राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्नुपर्ने निष्कर्ष

499
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : संसदीय समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले आज समितिमा पेस गरेको अध्ययन प्रतिवेदनमा जथाभावी निर्णय लिएको भन्दै सो प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देेशन तथा ऐन, कानूनको समेत पालना नगरी जथाभावी काम गरेकाले कारबाही गर्नुपर्ने निष्कर्षसहितको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक खगराज अधिकारीका अनुसार उपसमितिले स्थलगत रुपमा अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सिनेटको निर्णयअनुसार सो प्रतिष्ठानले नियमावलीसमेत नबनाई कर्मचारी नियुक्त गरेको पनि उल्लेख गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी ढंगले कर्मचारी नियुक्त गर्नेलगायतका काम गरेको जनगुनासो बढेपछि समितिले अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

उक्त उपसमितिले बीना कानूनी आधार कर्मचारी नियुक्त गर्ने, नयाँ प्राध्यापकहरु राख्ने लगायतका गैरकानुनी काम प्रतिष्ठानका पदाधिकारहरुबाट भएको निष्कर्षसहितको प्रतिवेदन समितिलाई बुझाएको छ ।

प्रतिवेदनमा सरकारको निर्देशनको समेत सो प्रतिष्ठानले पालना नगरेकोमा आपत्ति जनाइएको छ । समितिकी सभापति जयपुरी घर्तीले उपसमितिले तयार पारेको सो प्रतिवेदनमाथि अध्ययन गरी समितिले सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने बताइन् ।


  •  
  •  
  •