विप्लव नेतृत्वले गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित

सल्यानमा दुई सवारीसाधनमा तोडफोड
602
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओनएस) : नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण रोल्पा, दाङ, प्यूठान, सल्यान, रुकुमपूर्व र रुकुम पश्चिमको जनजीवन प्रभावित बनेको छ ।
दाङ र रोल्पाबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दै पार्टीले बन्द आह्वान गरेको हो ।

बन्दका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रका बजार, शिक्षण संस्था, यातायात, कलकारदाना ठप्प भएका छन् । यातायातका साधन सञ्चालन हुन नसक्दा जिल्ला बाहिरिने तथा भित्रिने नागरिकहरु अलपत्र परेका छन् । बन्दका कारण पठनपाठनमा समेत असर परेको छ ।

विप्लवका दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, इश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र नृपेन्द्र सेन केहि दिनअघि रोल्पाबाट पक्राउ परेका थिए ।

सवारीसाधनमा तोडफोड

सल्यानमा बन्दको अवज्ञा गरेको भन्दै बिहानै दुईवटा सवारीसाधनमा तोडफोड भएको छ ।

राप्ती राजमार्गको सल्यान दाङ खण्ड अन्तर्गत त्रिवेणीको सल्लेखोलामा ना ४ ख ६३६८ नम्बरको ट्रकमा तोडफोड भएको हो ।

तोडफोडबाट ट्रकका सिसा फुटेका छन् । यस्तै लु २ च २७२५ नम्बरको वोलेरो जीपमा पनि तोडफोड प्रयास भएको छ ।

प्रहरीले तोडफोडमा संलग्नको खोजी भैरहेको जनाएको छ । यातायात सुचारुको लागि स्कटिङमार्फत गाडि चलाउन शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।


  •  
  •  
  •