सरकार र राप्रपाबीचको वार्ता सकियो

राप्रपाद्वारा आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित
526
  •  
  •  
  •  

काठमाडौं, १० वैशाख(ओएनएस) : सरकार र आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको मंगलबारको वार्ता सकिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो भएको वार्तामा सैद्धान्तिक विषयमा छलफल भएको थियो ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार छलफलमा राजनीतिक विषयले भने प्रवेश पाए पनि निष्कर्षमा पुग्न सकेन ।

राप्रापाले गत फागुन ७ गते धर्मनिरपेक्षबारे जनमतसंग्रहलगायत २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको थियो ।
वार्तामा सरकारी टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गरेका थिए ।

राप्रपाको तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै पहिलो वार्ता सकिएको बताए ।

सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरेको छ । वार्तामा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र राप्रपाका तर्फबाट वरिष्ठ नेता दीपक बोहरा र निरञ्जन थापा सहभागी भएका थिए ।

राप्रपाका वार्ता टोली सदस्य राजेन्द्र लिंदेन भने मंगलबारको वार्तामा सहभागी भएनन् । राप्रपाले वार्ताका लागि सोमबार दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो ।


  •  
  •  
  •