१९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ८ जना परे प्रहरीकाे फन्दामा

581
  •  
  •  
  •  

काठमाडौं, १८ असाेज (ओएनएस) : कालिकोटमा एक युवतीमाथि सामूहिक बलात्कारकाे घटनामा प्रहरीले विभिन्न काेणबाट अनुसन्धान गरेपछि बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ परेका आठैजनाले बलात्कार गरेको स्विकार गरेका छन्।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा खडाचक्र नगरपालिका–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, २० वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक रहेका छन् । त्यसैगरी खडाचक्र नगरपालिका–१० का १७ वर्षीय पर्व विक, १६ वर्षीय गोर्ख विक र १८ वर्षीय सर्जन विक पक्राउ परेका हुन्। २ जना भने अझै फरार छन् ।

कालिकोटका डिएसपी विनोद शर्माले बलात्कारको आरोपमा पक्राउ परेका आठै जनाले बलात्कार गरेको भनी स्विकारेकाे पुष्टि गरे। उनका अनुसार खडाचक्र नगरपालिका–१० की १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा असोज ९ गते राति उनीहरु पक्राउ परेका थिए।

उनीहरुले ती युवतीमाथि गत असोज ९ गते बेलुका ६ बजे धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा सामूहिक बलात्कार गरेका थिए । सबैजनाले मादक पदार्थ सेवन गरेर बलात्कार गरेको अनुसन्धानबाट खुल्न अाएकाे प्रहरीले जनाएकाे छ।

उनीहरुमध्ये ३ जनाले बलात्कार गरिसकेको र बाँकीले बलात्कार गर्न लागेको अवस्थामा स्थानीय आएपछि भागेको प्रहरीले जनाएको छ। मेडिकल रिपोर्टमा पनि बलात्कार भएको पुष्टि भएको छ।

१० दिनको म्याद लिएर अनुसन्धान गर्दा प्रहरीले यस्ता प्रमाणहरु जुटाएकाे छ। भोलि शुक्रबार उनीहरुलाई अदालत उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकाे छ।


  •  
  •  
  •