‘झिना कारण देखाएर फैसला उल्ट्याइयो’

226
  •  
  •  
  •  

काठमाडौं २ पुस ।
किशोरी पूजा बोहोरालाई सामूहिक बलात्कार गरेको अभियोगमा १३/१३ वर्षको जेलसजाय पाएका व्यक्तिहरूलाई पुनरावेदन अदालत महेन्द्रनगरले झिनामसिना कारण अघि सारेर ‘निर्दोष’ भन्दै रिहा गरेको पाइएको छ । पीडित किशोरीले आफूमाथि भएको घटनाको सिलसिलेवार रूपमा बयान दिन नसकेको र घटनाको अनुसन्धान नै फितलो भएको जनाउँदै पुनरावेदनले जिल्ला अदालत बैतडीको फैसला उल्ट्याएको हो ।

जिल्ला अदालतले १३/१३ वर्ष कैद सजाय तोकेका अभियुक्तहरूले कुन आधारमा सफाइ पाएका हुन् ? उक्त मुद्दामा फैसला सुनाउने पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीश नरबहादुर शाहीले कान्तिपुरसँग प्रतिक्रिया दिए, ‘हामी कति बयानका पछि लाग्ने ? प्रतिवादीले पनि प्रहरीदेखि अदालतसम्म कतै कसुर स्विकारेको छैन ।’

पुनरावेदनका न्यायाधीश शाहीले प्रहरी अनुसन्धानमा खोट देखाए । ‘घटनाको अनुसन्धान पनि फितलो देखिन्छ,’ उनले भने, ‘जब पीडित बालिकाको शरीरमा शुक्रकीट र रौंहरू फेला परेको भन्ने उल्लेख गरिएको छ, त्यसको डीएनए किन परीक्षण गरिएन ? सबभन्दा ठूलो कमजोरी यही हो, त्यसको डीएनए परीक्षण गरेर बलियो प्रमाण पेस गर्न सकिन्थ्यो ।’ पुनरावेदन अदालतको फैसलामा पनि पीडित बालिकाको कट्टुमा मानव शुक्रकीट र रौंहरू भेटिए पनि त्यो प्रतिवादीकै हो भनेर यकिन हुन नसकेको उल्लेख छ ।

प्रहरीको अनुसन्धानका क्रममा पीडित बालिकाको योनिको झिल्ली फाटेको र आँखाको तलतिर चोट लागेको उल्लेख गरिए पनि पुनरावेदन अदालतले उमेर पुगेकी महिलाको योनिद्वार खुला हुनु स्वाभाविक भएको ठहर गरेको छ । जबकि घटना हँुदा बोहोरा १४ वर्षकी बालिका मात्र थिइन्, महिला होइन ।

‘पुनरावेदन अदालतले जिल्ला अदालतको फैसला उल्ट्याएर आरोपितलाई सफाइ दिँदाका आधारहरू झिनामसिनामात्रै छन्,’ पुनरावेदन सरकारी वकिलको कार्यालय महेन्द्रनगरका एक कर्मचारीले भने, ‘जिल्लाको निर्णय नै उल्ट्याउनुपर्ने कुनै तथ्यगत आधार छैन ।’

‘घटनाको प्रत्यक्षदर्शी भनेको पीडित हो,’ उक्त मुद्दामा फैसला सुनाउने पुनरावेदनका न्यायाधीश शाहीले भने, ‘जब पीडितले नै आफूमाथि भएको घटनाको वारदात स्थल यकिनसाथ भन्न सक्दैन भने त्योभन्दा ठूलो प्रमाण खोजी राख्नुपर्दैन ।’

पुनरावेदनको फैसलामा पीडित बालिकाले अदालतमा आफूमाथि भएको घटनाको वारदात स्थल यकिन रूपमा बताउन नसकेको, पीडितका बुवाले पनि जबर्जस्ती करणी भएको तथ्य बकपत्रमा खुलाउन नसकेको लगायतका आधारहरू उल्लेख गरिएका छन् ।

तीन वर्षअघि बैतडीमा भएको बलात्कार घटनामा दोषी देखिएका दुवै युवालाई पुनरावेदनका तत्कालीन न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले गत वैशाख १५ मा सफाइ दिएको थियो । जिल्ला अदालत बैतडीले २०६९ फागुन २२ मा भूमेश्वर गाविसका सागर भट्ट र गुजर गाविसका अमर अवस्थीले बोहोराको सामूहिक बलात्कार गरेको ठहर गर्दै १३/१३ वर्ष कैद सजाय र क्षतिपूर्तिको फैसला गरेको थियो । ०६८ चैत ९ गते बैतडीको पाटन केन्द्रबाट एसएलसी परीक्षा दिइरहेकी १७ वषर्ीया छात्रामाथि सामूहिक बलात्कार भएको थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •