‘१७ वर्षमा बलात्कारका घटना ७ सय प्रतिशतले बढे’

175
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : पछिल्लो सत्र वर्षको तथ्याङ्क अनुसार नेपालमा बलात्कारका घटना ७ सय प्रतिशतले बढेको छ । नेपाल प्रहरी अन्तर्गतको महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०५३/५४ मा बलात्कार सम्बन्धी एक सय १२ उजुरी प्रहरीमा दर्ता भएको थियो ।

आर्थिक वर्ष २०७०/७१ मा आइपुग्दा यो सँख्या ७ गुणाले अर्थात ७ सय प्रतिशतले बढेर ९ सय १० पुगेको छ । यहि अवधिमा जवरजस्ती करणीको उद्योग सम्बन्धीका उजुरीको सँख्यामा ११ गुणाले बृद्धि भएको नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले बताए । आर्थिक वर्ष २०५३/५४ मा बलात्कारको प्रयास भएको भन्दै प्रहरीमा ३४ वटा उजुरी परेकोमा आर्थिक वर्ष २०७०/७१ मा आइपुग्दा यो सँख्या बढेर ४ सय १४ पुगेको छ ।

प्रवक्ता बमले भने, “नेपाल प्रहरीले आर्थिक वर्ष २०५३/५४ देखि महिलामाथि हुने गरेका हिंसा सम्बन्धीका उजुरीलाई व्यबस्थित गरेको छ । पछिल्लो समयमा बलात्कारका घटनाहरु सार्वजनिक हुने र कानुनी उपचारको खोजी गर्ने दर बढेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । १७ वर्षमा प्रहरीमा परेको उजुरीलाई विश्लेषण गर्ने हो भने अवस्था चिन्ताजनक छ ।” Rape Data Nepal

पछिल्लो दश वर्षको अवधिमा बलात्कारका घटना ५ गुणाले बढेको देखिएको छ भने बलात्कार प्रयासको घटनामा परेको उजरीको सँख्या पनि बढेको छ । आर्थिक वर्ष २०७०/७१ मा जवरजस्ती करणी सम्बन्धी ९ सय १० उजुरी प्रहरीमा दर्ता भएको प्रवक्ता बमको भनाइ छ ।

उनले भने, “यस आर्थिक वर्षको साउनदेखि माघसम्ममा जवरजस्ती करणी सम्बन्धी ९ सय १० उजुरी परेकोमा जवरजस्ती करणीको उद्योग सम्बन्धी ३ सय उजुरी दर्ता भएका छन् । यसमा भएका कारवाहीको अवस्थाबारे भने अहिले भन्न सकिने अवस्था छैन ।” प्रहरीको तथ्याङ्क अनुसार साउनमा ८७, भदौमा ८६, असोजमा ७७, कात्तिकमा ७३, मंसिरमा ५९, पुसमा ६७ र माघमा ६० घटना दर्ता भएका छन् ।

बलात्कार सम्बन्धीका घटनामा अझै गाउँघर समुदायमैं मिलापत्र गराउने गरेको सरकारी अधिकारीहरु बताउँछन् । ‘आफ्नै बेइज्जत हुने, धेरैले थाहा पाउने र बदनाम हुने डरले गाउँमैं मिलापत्र गराउने चलन अझै छ ।’ एक अधिकारीले भने, ‘बलात्कार भयो भनेर उजुरी नगर्ने हो भने बलात्कारीलाई अझै प्रोत्साहन मिल्छ । त्यसकारण जतिसक्दो छिटो प्रहरीमा उजुरी गर्नुपर्छ ।’

अश्लील चलचित्र, यौन तृप्ती, मादक पदार्थ सेवन, सामाजिक विसङ्गती र प्रकाशनको प्रभाव आदि विभिन्न कारणले बलात्कारका घटनामा बृद्धि भैरहेको प्रहरीको निष्कर्ष छ । नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले बताए । उनी भन्छन्, “बिगत वर्षको तुलनामा बलात्कारका घटना बढिरहेका छन् । यस वर्ष सबैभन्दा कम ५९ र सबैभन्दा बढी ८७ वटा उजुरी परेका छन् । वास्तविक घटना अझ धेरै पनि हुन सक्छन्, सबै घटनाका पीडितले कानुनी उपचारमा जानुको सट्टा लुकाएका पनि हुन सक्छन् ।”

बलात्कारका घटनाका आरोपीहरु पक्राउ पर्ने दर एकदमैं कम छ । यदि पक्राउ परे पनि सजिलै उम्कने गरेकाले त्यस्ता बलात्कारीलाई प्रोत्साहन मिलिरहेको अधिकारकर्मीहरु बताउँछन् । बलात्कारीलाई फाँसीको सजायँ दिने गरी कानुन बनाई कार्यान्वयन गर्न र बलात्कारमुक्त समाज निर्माण गर्न उनीहरुले माग गरेका छन् ।

बिगत ११ बर्षदेखि यौनजन्य हिंसाको बिरुद्द लडिरहेको संस्था रक्षा नेपालका अध्यक्ष मेनुका थापा भन्छिन्, “कि त बलात्कारका घटनाका आरोपीहरु पक्राउ पर्दैनन्, पक्राउ परे पनि राजनीतिक तथा अन्य शक्तिको संरक्षण तथा बिभिन्न प्रभावका कारण दोषी छुट्ने गरेका छन् । बलात्कारीले पाउने सजायँ अत्यन्त न्यून भएका कारण यस्ता अपराधीलाई प्रोत्साहन मिलिरहेको छ ।”


  •  
  •  
  •