बलात्कारपछि बालिकाको हत्या

67
  •  
  •  
  •  

धनुषा, ३ भदौ (ओएनएस) : धनुषाको तारापट्टि सिरसियामा एक बालिकाको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै जिल्लाकै बेँगाडावरमा एक बालिकालाई बलात्कार गरी हत्या गरिएको छ । मंगलवार एकाबिहानै प्रहरीले बलात्कार गरी हत्या गरिएको अवस्थामा बेँगाडावर–९ निवासी ११ वर्षीया एक बालिकाको शव फेला पारेको छ । यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउसमेत गरेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बालिका कृष्णाष्टमी दिन लालगढ वडा नं ९ पानीट्याङ्की नजिक लागेको मेला हेरेर फर्कने क्रममा बाटैमा बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको थियो ।

बालिकाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

यसअघि, शनिबार राति जिल्लाको तारापट्टिमा १४ वर्षीया एक बालिकालाई शौचालय गएका बेला सामूहिक बलात्कार गरिएको थियो । यस घटनामा आरोपितमध्ये श्रवण पुर्वेलाई पक्राउ गरिसकिएको छ भने अन्यको खोजी कार्य जारी छ ।


  •  
  •  
  •