बलात्कार गरी वृद्धाको हत्या

569
  •  
  •  
  •  

गुल्मी, २७ साउन (ओएनएस) : गुल्मीको हर्मिचौरमा एक व्यक्तिले ६० वर्षीया वृद्धाको बलात्कार पछि हत्या गरेका छन् ।

ठूलोलुम्पेक गाविस वडा नम्बर १ घर भई अर्बेनी– २ मा अस्थायी बसोवास गर्दै आएका ४० वर्षीय देवबहादुर थापाले हर्मिचौर गाविस वडा नम्बर ३, तल्लोपोखरा निवासी देउरुपा सापकोटाको बलात्कार पछि हत्या गरेका हुन् ।

गत साउन २२ गते बिहान वृद्धाको हत्या गरी फरार रहेका थापालाई स्थानीय बासिन्दा र प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । थापाले साउन २२ गते बिहान ती वृद्धालाई कोदालाको पासोले प्रहार गरी हत्या गरेको लम्सालले बताए ।

उक्त दिन बिहान वृद्धाका श्रीमान् लक्ष्मीपति सापकोटा बेँसी गएको अवस्थामा बोल्न नसक्ने देउरुपालाई निजले सुरुमा घरमा आई चिया पकाउन लगाएको र पछि नाकको फुली खोस्दै बलात्कार गर्न खोज्दा उनी चिच्च्याएपछि निजले नजिकै रहेको कोदालोको पासोले टाउकोमा प्रहार गरी मारेको स्वीकार गरेका लम्सालले बताए ।

मृतकको परिवार निकै गरिब भएकाले सदरमुकामसम्म आउने खर्चसमेत नभएपछि गाउँलेले सहयोग गरेको स्थानीय चतुर्भुज पाण्डेले बताए । उनका अनुसार ७९ वर्षीया श्रीमान् लक्ष्मीपति गाउँमा मेलापात गर्ने र एक छोरा काठमाडौँमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।


  •  
  •  
  •