बलात्कारपछि हत्या गरिएकी बृद्धाको परिवारलाई घर

117
  •  
  •  
  •  

काठमाडौं २४ चैत । गाउँको एकान्तमा ढोकाबिनाको झुपडीमा बस्दै आएकी ६९ वर्षीया वृद्धा । न परिवार छन् न त नजिकमा छिमेकी । बोल्न पनि नसक्ने र कान पनि कम सुन्ने तिनै वृद्धालाई ४० वर्षीय व्यक्तिले बलात्कार गरी हत्या गरे । उनको हत्या भएको खबर दुई दिनपछि मात्र सार्वजनिक भयो । गाउँ शोकमा डुब्यो । ४ दिनपछि हत्यारा पक्राउ परे ।

दुर्गम हर्मीचौर ३ की ६९ वर्षीया देउरुपा सापकोटालाई बलात्कार गरी हत्या गरेको खबरपछि गाउँसँगै जिल्ला र विदेशमा पुगेकालाई समेत शोकमा डुबायो । त्यही शोक मेटाउन र बाँचेका विपन्न परिवारका सदस्यको सहयोगका लागि हर्मीचौर घर भई रोजगारीका लागि अमेरिकामा रहेका डोलराज पाण्डेले जग्गासहित झन्डै ५ लाख लागतमा घर बनाइदिए । घर निर्माणपछि देउरुपाका ७० वर्षीय श्रीमान् लक्ष्मीपति र १९ वर्षीय छोरा थीरलाललाई सहज भएको छ ।

‘एकान्त बस्तीमा भएकै कारण वृद्धाले बलात्कारपछि ज्यान गुमाउनुपर्‍यो,’ दुईतले घर हस्तान्तरणपछि पाण्डेले भने, ‘बाँचेका श्रीमान् र छोरा बाक्लो बस्तीका बीचमा बस्ने वातावरण बनाउन मन लागेकाले घर बनाइदिने निर्णय गरेको हुँ ।’ पाण्डेले आपmनी आमा सुमित्रामार्फत घर हस्तान्तरण गराएका थिए । विपन्न सापकोटा परिवार दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आएका छन् । वृद्धाको हत्या गर्ने दिन पनि श्रीमान् खाने खर्च नभएपछि अर्को गाउँमा मकै खोज्न गएका थिए । छोरा एक महिनाअघि मात्र काठमाडौंमा होटलमा काम गर्न थालेका थिए ।

खाने खर्च जुटाउन बेंसी झरेका देउरुपाका श्रीमान् त्यही दिन फर्कन नसकेकाले वृद्धाको बलात्कारपछि हत्या भयो । बूढाले भने यो खबर भोलिपल्ट साउन २३ गते मात्र थाहा पाएका थिए । ‘घटना निकै दर्दनाक थियो,’ स्थानीय तिलाचन पाण्डेले भने, ‘अहिले रोजगारीका लागि विदेश पुगेकाले गरेको सहयोगले पीडितको परिवारमा राहत मिलेको छ ।’ पाण्डेले सापकोटा परिवारका लागि सुन्दर बगैंचा र नजिकै पक्की शौचालयसहितको घर दिएका हुन् ।

लक्ष्मीपतिले आधुनिक शैलीमा निर्माण गरिएका प्लास्टरसहितको घर पाउँदा खुसी भएको बताए । ‘यो घरमा बूढी पनि भए कस्तो हुने थियो,’ आँसु झार्दै उनले भने, ‘घर बनाइदिने डोलराज बाबुको सधैं जय होस् ।’ श्रीमतीको मृत्युपछि त्यो घरमा बस्न डर लागेको भए पनि अन्यत्र नभएकाले डराइडराई ७ महिना बिताएको उनले बताए । लामो समयदेखि अमेरिकामा बस्दै आएका डोलराजले आम्दानीको केही अंश गाउँको विकास र सामाजिक काममा खर्च गर्ने बताए । उनले लक्ष्मीपतिका लागि ५० हजार रुपैयाँको अक्षय कोषसमेत खडा गरिदिएका छन् ।
कान्तिपुर दैनिकबाट


  •  
  •  
  •