बलात्कारीको मोबाइल खोसेर उनी भागेपछि..

127
  •  
  •  
  •  

काठमाडौं ३ असार (ओएनएस) ; नातिसरहका एक युवकले बलात्कारको प्रयास गरेपछि ६४ वर्षीया जेष्ठ एक महिलाले तीनै युवकको मोबाइल खोसेर भागेकी छन्।

बलात्कार प्रयास गर्ने युवकको आक्रमणको प्रतिकार गर्दै ती महिला बलात्कृत हुनबाट पनि जोगिएकी छन्। नवलपरासी ८ सुनवल घरभई स्याङ्जामा बसेर घर निर्माण काममा संलग्न २३ वर्षीय अर्जुन राईलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ।

पुतलीबजार नगरपालिका निवासी ६४ वर्षीया ती महिलालाई नवलपरासी ८ सुनवल घरभई हाल स्याङ्जामा बसेर घर निर्माणका काम गर्ने २३वर्षीय अर्जुन राईले बलात्कार गर्न खोजेपछि प्रतिकार गर्दै महिला भाग्न सफल भएको प्रहरीले जनाएको छ। भिरालो र असजिलो ठाउँमा पुरयाएर बलात्कार गर्न खोजेपछि आरोपित युवक नै भीरमा फसेको र ती महिला भाग्न सफल भएको बताइएको छ।

साँझपखको समम थियो। सिमसिमे पानी पनि परेको थियो। घरका लागि समान किनेर फर्कदै गर्दा घुम्ती, भिरालो र एकान्त ठाउँ पारेर ती महिलालाई लखेट्दै राईले बलात्कारको प्रयास गरेका थिए। राईको आक्रमणपछि ती महिलाले प्रतिकार गर्दै जाँदा राईको मोबाइल भुईमा खसेपछि ती महिलाले मोबाइल टिपेर घरतर्फ भागेकी थिइन्। मोबाइलका कारण राईलाई पक्राउ गर्न सजिलो भएको नायब प्रहरी निरीक्षक गोकर्ण थापाले जानकारी दिए।

थापाका अनुसार बलात्कारका आरोपी राईलाई पक्राउगरी जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको छ। उमेरले पाको भए पनि महिलाले बडो होशियारीका साथ आफूलाई जोगाउन सफल भएको र आरोपिलाई सजिलै पक्राउ गर्न सकिएको प्रहरीको भनाइ छ।

अन्नपूर्णपोष्ट


  •  
  •  
  •