बालिकालाई सामुहिक बलात्कार गर्नेलाई ११ वर्ष कैद सजाय

158
  •  
  •  
  •  

काठमाडौं १२ कात्तिक ।

सप्तरीमा एक बालिकालाई सामुहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मंगलबार कैद सजाय गर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश नवराज दाहालको आदेशले सप्तरीको फर्सेठ गाविस-४ का २८ वर्षीय कारी एवं रघुनन्दन भनिने रघुनाथ यादव र देउरी भरुवा गाविस-१ का २८ वर्षीय चन्दर भनिने चन्दन यादवलाई जनही ११ वर्ष कैद र पीडितलाई रु. १० हजार क्षतिपूर्ति भराउने फैसला भएको अदालतले जनाएको छ।

फैसलाअनुसार देउरी भरुवा गाविस-५ का ३१ वर्षीय रामकुमार यादवलाई दुई वर्ष कैद तथा फर्सेठ गाविस-३ का २५ वर्षीय लालु भनिने शंकर यादव र देउरी भरुवा गाविस-१ का २८ वर्षीय राजेश कुमार यादवलाई एक वर्ष २१ दिन कैद सजाय गर्ने फैसला भएको से्रस्तेदार नवराज दुलालले बताए।

अपहरण तथा बलात्कार घटनामा संलग्न रहेको आरोप लागेका राजविराज-१ स्थित राजदेवी लजका मेनेजर हरीहरपुर गाविस-५ का पंकज भनिने टंकज कुमार देवले भने अभियोगबाट सफाई पाएका छन्। आरोपितहरुले बलात्कार गरी राजविराजस्थित राजदेवी लजको कोठा नम्बर ९ मा बन्धक बनाई राखेको अवस्थामा पीडितलाई ०६८ साउन २३ गते प्रहरीले उद्धार गरेको थियो।

आरोपितहरुले साइकलमा चढी मामाघर आउँदै गरेकी पीडितलाई नियन्त्रणमा लिई फर्सेठ गाविस-६ स्थित खुला चौरमा पुर्याई ०६८ साउन २२ गते राति ७:३० बजे सामुहिक बलात्कार गरी राजदेवी लजमा बन्धक बनाएका थिए। पीडितको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ०६८ साउन २३ गते स्वास्थ्य परिक्षण भएको थियो।

पीडितकी मामाली हजुरवुवाले ०६८ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी सोही मितिमा दर्ता गरी प्रहरीले आरोपित राजेश र टंकजलाई ०६८ साउन २३ गते तथा शंकरलाई ०६८ साउन २४ गते गिरफ्तार गरेको थियो।

जिल्ला अदालतले गिरफ्तार भएका टंकजलाई ०६८ भदौ १३ गते रु. २५ हजार धरौटीमा रिहा गरेको थियो भने राजेश र शंकरलाई पुर्पक्षका लागि कारगारमा थुनामा पठाएको थियो। जिल्ला अदालतमा हाजिर भएका चन्दन ०६८ माघ १७ गते, रामकुमार ०६८ माघ २२ गते र रघुनाथ ०६९ बैशाख २७ गते साधारण तारेखमा रिहा भएका थिए।

पुर्पक्षका लागि थुनामा रहेका राजेश र शंकरलाई पुनरावेदन अदालत राजविराजले ०६८ मंसिर १५ गते र धरौटीमा रिहा भएका टंकजलाई ०६८ फागुन ४ गते साधारण तारेखमा रिहा गरेको थियो। साधारण तारेखमा रिहा भएका चन्दन र रघुनाथलाई भने पुनरावेदन अदालतले ०६९ असार २१ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

आरोपित रामकुमारको हकमा भने जिल्ला अदालतको साधारण तारेखमा रिहा गर्ने आदेश नै सदर गरेको थियो। कारागारमा थुनामा रहेका आरोपितहरुलाई साधारण तारेखमा र साधारण तारेखमा रहेकालाई थुनामा पठाउने पुनरावेदन अदालतको आदेशपछि मंगलबार जिल्ला अदालतको फैसला हुँदा पाँचैजना बलात्कारी फरार रहेका छन्। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •