रे पनि दिल्ली जाँदै

114
  •  
  •  
  •  

काठमाडौं २० मंसिर ।
प्रधानमन्त्री ओलीले आन्दोलरत मधेसी मोर्चाका मागलाई संविधान संशोधनमार्फत मिलाएर लैजान आफू प्रतिबद्ध रहेको बताएका छन् । भारतीय राजदूत रन्जित रेसँग शनिबार बिहान भएको भेटमा ओलीले त्यस्तो बताएका हुन् । राजदूत रेले प्रधानमन्त्री ओलीलाई मधेसी मोर्चाका चार नेता आइतबार नयाँदिल्ली जाने र आफू पनि भारत जान लागेको जानकारी गराएका थिए ।

स्रोतका अनुसार रेले ओलीलाई सीमांकन, निर्वाचन क्षेत्र निर्धारण र नागरिकताका विषयमा कुरा मिलाउन आग्रह गर्दै अहिलेको समस्या त्यही रहेको बताएका थिए । प्रधानमन्त्रीले पुनः सीमांकन गर्दा अन्य क्षेत्रका जनता आन्दोलित हुने भएकाले आयोगमार्फत गर्न खोजेको जानकारी गराएका थिए । ओलीले सीमांकन र नागरिकताका विषयमा गम्भीर ढंगले सोच्नुपर्ने पनि बताएका थिए ।

यी दुवै विषय जटिल भएकाले त्यसतर्फ भारत र आन्दोलनकारीले पनि सकारात्मक रूपमा सोच्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ थियो । ओलीले अहिलेको समस्याको उपयुक्त समाधान प्रमुख तीन दलका शीर्ष नेताले तयार गरेको साझा अवधारणा नै रहेको पनि बताएका थिए ।

मधेसी मोर्चाका शीर्ष नेता आइतबार भारत जान लागेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, विपक्षी दलकी नेत्री सोनिया गान्धीलगायतका नेतासँग मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र मधेस आन्दोलनबाट सिर्जना भएको अवस्थाका बारेमा कुरा गर्न उनीहरू नयाँदिल्ली जान लागेका हुन् ।

फोरम नेपालका अध्यक्ष यादव र तमलोपाका अध्यक्ष ठाकुर आइतबार बिहान काठमाडौंबाट नयाँदिल्ली जाँदैछन् भने सद्भावना पार्टीका नेता राजेन्द्र महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव सीतामढीबाट दिल्ली पुग्दैछन् । उनीहरू भारत सरकारको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

भारतीय नेतासँग राख्ने प्रस्तावका बारेमा छलफल गर्न शनिबार मोर्चाको बैठक बसेको थियो । बैठक संविधान निर्माणका क्रममा मधेसी मोर्चालाई गरेको उपेक्षा र मोर्चाको आन्दोलनमा राज्यले गरेको दमनलाई नै मूल एजेन्डा बनाउने निष्कर्षमा पुगेको स्रोतले बतायो ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •