परराष्ट्र मन्त्रालयमा बोलाएर भारतीय राजदूतसँग छलफल

110
  •  
  •  
  •  

काठमाडौं ८ मंसिर ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सोमबार भारतीय राजदूत रणजित रायलाई मन्त्रालयमा बोलाएर पारवहनमा भइरहेको अवरोध र त्यसबाट उत्पन्न मानवीय संकटबारे छलफल गरेका छन् ।
त्यस क्रममा पारवहन सहजताबारे जिज्ञासा राख्दै थापाले नेपालको मानवीय संकट समाधानको पहल गर्न आग्रह गरेको परराष्ट्र अधिकारीले जानकारी दिए । भारतले आफ्नातर्फबाट पारवहन सहज बनाइदिए नेपालतर्फ समस्या नरहेको जानकारी उपप्रधानमन्त्री थापाले भारतीय राजदूतलाई गराएका थिए ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीका कारण मानवीय संकट सुरु भइसकेको छ । यस्तै, तराई केन्दि्रत दलहरू भारत आफ्नो साथमा रहेको बुझाइका साथ उग्र बन्दै गएका छन् । कूटनीतिक समुदायले पनि नेपालको समस्याबारे जिज्ञासा राख्न थालेका छन् ।
राजदूत राय अपराहन ४ बजे परराष्ट्र मन्त्रालय पुगेर ३५ मिनेट उपप्रधानमन्त्री थापासँग भेट गरेका थिए । परराष्ट्रमन्त्री थापाले नेपालको अवस्थाबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई बोलाएर छलफल गर्ने तयारी गरिरहेका छन् । त्यसको पूर्वसन्ध्यामा भारतीय राजदूतसँग अलग्गै छलफल गरेका हुन् । पूर्वपरराष्ट्र मन्त्रीहरूलाई समेत बोलाएर मुलुकको यथार्थ अवस्था जानकारी र समाधानको उपायबारे छलफल गर्ने तयारी उपप्रधानमन्त्री थापाको छ ।

राजदूत रायसँगको भेटमा उनले भारतीय विदेश मन्त्रालयले गरेको ‘बि्रफिङ’ तथा भारतीय दूतावासले नागरिक समाज, बुद्धिजीवी र काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग गरेको छलफलबारे समेत जानकारी लिएका थिए । ‘के हो भारतीय राजदूतावासमा सधैं भेटघाट र छलफल भएको समाचार आइरहेको छ नि’ भन्दै उनले राजदूतसँग जानकारी मागेका थिए ।

भारतले नेपालमा नाकाबन्दी गरेपछि भारतीय कूटनीतिज्ञसँग सरकारको सम्पर्क हुन नसकेको भनिरहेको अवस्थामा उपप्रधानमन्त्रीसँग राजदूतको लामो छलफल भएको हो । परराष्ट्रमन्त्रीले समस्या समाधानको प्रयासमा सरकार लागिरहेको जानकारी दिँदै आन्तरिक समस्या छिट्टै समाधान हुनेसमेत बताए । परराष्ट्रमन्त्री थापाले आन्दोलन मधेसी दलहरूको नियन्त्रणबाट बाहिर गएको विश्लेषण सुरक्षा निकायको रहेको बताउँदै समस्या समाधान नभए मुलुक निकै गाह्रो अवस्थामा पुग्नेतर्फ ध्यान दिन आग्रह गरेका थिए । नेपालमा समस्या हुँदा भारतलाई पनि असर पर्ने भन्दै उनले यस्तो जानकारी दिएको स्रोतले जनाएको छ ।

उपप्रधानमन्त्रीसँग भेटपछि राजदूत रायले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिन अस्वीकार गरे । ‘अहिले नयाँ खबर के छ ?’ भन्ने प्रतिप्रश्न गर्दै गाडी चढेर हुइँकिए । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पछिल्लो अवस्थाबारे जानकारी लिन उनलाई बोलाइएको हो । वीरगन्ज नाकाबाटै इन्धनलगायत सामान आपूर्तिको वातावरण बनाउने सरकारी पहल स्वरूप भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरिएको एक अधिकारीले जानकारी दिए । उनका अनुसार छलफलका क्रममा राजदूत रायले भारतले नाकाबन्दी नगरेको र नेपालकै कारण इन्धनलगायत सामान आपूर्ति हुन नसकेको पुरानै धारणा दोहोर्‍याएका थिए ।

आन्तरिक समस्या समाधानमा सरकार र राजनीतिक दलहरूले पहल गरिरहेको उपप्रधानमन्त्री थापाले बताएका थिए । औषधि, खाद्य वस्तु, इन्धनलगायत अत्यावश्यक सामग्री अभावले नेपाल समग्र रूपमा आक्रान्त बन्दै गएको अवस्था बुझिदिन उपप्रधानमन्त्री थापाले राजदूत रायलाई आग्रह गरेका थिए । स्रोतका अनुसार वर्तमान समस्या आन्तरिक मात्र भएकाले पारवहन अवरोधको अवस्था नलम्ब्याउन थापाले राजदूतलाई आग्रह गरेका थिए ।

‘यो सामान्य भेटघाट हो । छलफल भइरहेकै छ । त्यसकै एक पाटोका रूपमा आज पनि छलफल भएको हो,’ राजदूत रायसँग भेटपछि उपप्रधानमन्त्री थापाले भने, ‘अब हामी सबै कूटनीतिक समुदायलाई बोलाएर विवरणसहित यथार्थ जानकारी दिनेछौं । समाधानका लागि पूर्वपरराष्ट्रमन्त्री, यस क्षेत्रका विज्ञ तथा सञ्चारकर्मीहरूसँग पनि छलफल गर्नेछौं ।’

‘राजदूतलाई बोलाएको हो’ भन्ने जिज्ञासामा उनले मन्त्रालय र दूतावासबीच छलफल भइरहेको र समस्या समाधानमा सरकार गम्भीर भएर अगाडि बढेको जवाफ दिए । यसअघि उनले भारतले यसप्रकारको असहजता कायम नगरेको भए हुने भन्दै तत्काल समस्या समाधानका लागि आग्रह गरेका थिए । परराष्ट्र मन्त्री र भारतीय राजदूत भेटमा भारतसमेत हेर्ने दक्षिण एसिया महाशाखाका अधिकारीको पनि उपस्थिति थियो ।
कान्तिपुरबाट


  •  
  •  
  •