काठमाडौँ, १८ कात्तिक(ओएनएस) : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत रणजीत रेले भेटवार्ता गरेका छन् । आज बिहान पूर्वप्रधानमन्त्री नेपालको नीजि निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको छ ।
भेटमा भारतीय राजदूत रेले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा समस्या देखिएको र नेपालमा भारतप्रति नकारात्मक भावनाको बृद्धि भैरहेको प्रति चिन्ता व्यक्त गरेका थिए । उनले भारतले नाकाबन्दी नगरेको र मधेस केन्द्रित दलहरुको आन्दोलनलाई भारतले सहयोग गरेको भनी गरिएको प्रचार सत्य नभएको स्पष्ट पारेका थिए । केही दिन पहिले सरकार तथा आन्दोलनरत पक्षको वार्ता सकारात्मक भएको समाचारसँगै आफुहरुपनि खुसी भएको कुरा उल्लेख गर्दै उनले नेपालको आन्तरिक समस्या समाधान होस् र नेपालका राजनीतिक पार्टीहरु मिलेर मुलुकलाई सम्बृद्धिको बाटोमा अघि बढाउन् भन्ने भारतीय चाहना रहेको उल्लेख गरेका छन् ।
जवाफमा पूर्व प्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरू प्रतिबद्ध रहेको बताए । उनले आपूर्ति समस्याका कारण नेपाली जनताले पाइरहेको कष्टप्रति संवेदनशील हुन राजदूतमार्फत भारत सरकारसँग आग्रह गरेका छन् । उनले नेपालमा भारत विरोधी धारणा विकास हुनमा के–कस्ता कुराहरुले प्रभाव पार्यो भनी विशेष अध्ययन गर्नुपर्ने र त्यसको आधारमा समाधान खोज्नुपर्ने सुझाव दिइएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए ।