रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो १२३ किलोको गजुर

85
  •  
  •  
  •  

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा १२३ किलोको गजुर राखिएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार सुनको लेपनसहितको गजुर राखिएको छ ।

यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलिमा पूननिर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको जानकारी गराए ।
मन्दिरको गजुर १ सय २३ दशमलव ७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ ।

मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको सहसचिव अर्यालले बताए ।

२०७२ साल ३ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गरेपछि पुननिर्माणको काम शुरु भएको थियो । तर बिचमा आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो ।

यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुननिर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको सहसचिव अर्यालले बताए ।


  •  
  •  
  •