सुर्खेत, ७ असोज(ओएनएस) : मधेसवादी दलहरूले गरेको आन्दोलनको कुनै तुक नभएको अर्थमन्त्री डा. रामशरण महतले बताएका छन् । विभिन्न जिल्लाको भम्रणका क्रममा सुर्खेत आइपुगेका अर्थमन्त्री महतले जारी भएको संविधानका विषयमा तिक्तता राख्नु गतल भएको टिप्पणी गरेका हुन् ।
सबै पक्षलाई समेट्ने गरी नयाँ संविधान जारी भएको अवस्थामा तराईका जिल्लाहरुमा आन्दोलन चर्काउनुको कुनै अर्थ नभएको महतको भनाई छ । ‘मोर्चाले नागरिकहलाई अनाहकमा दुःख दिएर अर्थतन्त्र धरासायी बनाउने मनशाय हो’ प्रेस युनियन सुर्खेतले बिहीबार वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘सबै मिलेर जारी भएको संविधान कार्यन्वयन गर्नमा साथ दिए मोर्चाको भलाई हुनेछ ।’
लगातरको बन्दले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ भने, अर्कोतर्फ उद्योगधन्दा ठप्प हुँदा मजदुरहरू मर्कामा परेको अर्थमन्त्रीले उल्लेख गरे । नाका ठप्प पारेर आन्दोलन गर्ने अभिव्यक्ति सार्वजनिक गरेका मधेसीवादी मोर्चाको भनाई केबल भ्रम मात्र भएको उनले बताए । नाकाबन्दी गर्दा राज्य मौन नहुँने भन्दै मोर्चाको धम्कीले राज्य काम्दैन, बरू बन्द गरेर देखाउन अर्थमन्त्री महतले मोर्चालाई चुनौती दिए ।
भारत नेपालमा जारी भएको संविधानको पक्षमा रहेको दावी गरेका अर्थमन्त्री महतले आगामी दिनमा बिहार राज्यको निर्वाचनमा असर पुर्याउने हुँदा भारत रूष्ट भएको जिकीर गरे ।
तराईमा हिंसात्मक घटना जारी रहे, बिहारको निर्वाचनले अर्को रूपमा लिने सम्भावना रहेकाले भारत नेपालमा तत्काल शान्ति र स्थिरता भएको हेर्न चाहेको बताए । उनले भारतका अधिकारीहरुसँगको भेटमा आफूलाई संविधानप्रति नभई हिंसाप्रति असन्तोष व्यक्त गरेको खुलासा गरे । पछिल्लो पटक भारतले नाका बन्द र संविधानमा सात बुँदे संशोधन गर्ने भन्ने अभिव्यक्ति सत्य हुन नसक्ने बताए । नेपाली जनातले नयाँ संविधान बनाएकाले अन्य देशको दवावमा संविधान संशोधन नहुने उनको धारणा थियो ।
फरक प्रंसगमा अर्थमन्त्री महतले संविधान जारीसँगै अब देशले अर्थतन्त्रमा फड्को मार्ने उद्घोष गरेका छन् । संविधान जारी भएकाले उद्योग धन्दा सञ्चालन गर्ने वातावरण तयार भएको उनको भनाई छ । साथै, नेपालमा विकासको पूर्वाधारमा वर्षेनी अराबौँ रकम विनियोजन भएपनि निर्माण व्यवसायी विकसित नभएका कारण सोचेजस्तो प्रगति नभएको बताए । तर, अर्थमन्त्री डा. महतले अबको तीन वर्षभित्र नेपालका सबै गाउँ विद्युतीकरण गर्ने खुलासा समेत गरे । ‘नेपालको विद्युतीकरणका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको छ’, उनले भने, ‘विद्युतीकरणपछि देशका गाउँहरुको मुहार फेरिने छ ।’ देश अब संघियतामा गएकाले अन्य प्रदेशको तुलनामा छैटौं प्रदेश आर्थिक र स्रोत साधनले भरीपूर्ण रहेको तर्क अर्थमन्त्री महतको छ । ‘यहाँ कृषि, पर्यटन, जलविद्युत, जडीवुटी लगायतका थुप्रै सम्भावना छन्’ उनले थपे, ‘भारतसंग सिमा जोडिएन भन्दै दुःख मान्ने कारण छैन्, बरु हिल्सा नाका खोलेर मजवुत प्रदेश बनाउनु पर्छ ।’ उनले मोटरबाटो पुग्न नसेका दुई जिल्ला हुम्ला र डोल्पाका लागि बजेट अभाव हुन नदिएको बताएका छन् । नेपाली सेनामार्फत काम जारी रहेकाले ती जिल्लामा तत्काल सडक पुर्याउन स्रोत र साधनमा कुनै अभाव हुन नदिएको उनले उल्लेख गरे ।
अर्थमन्त्री महतसहित टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्ले, बाग्लुङका सभासद प्रकाश पौडेल, हुम्लाका सभासद जीवन शाही, सुर्खेत क्षेत्र नम्बर दुइका सभासद् हृदयराम थानी, क्षेत्र नम्बर तीनका सभासद तप्तबहादुर विष्ट सहभागी छन् । बुधबार गैडाकोट, बाग्लुङ, पोखराको कार्यक्रम सकेर सुर्खेत आइपुगेको महत सहितको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत बिहीवार डोल्पा हुँदै हुम्ला प्रस्थान गरेको छ ।