‘६ प्रतिशत बढि आर्थिक बृद्धि हासिल गर्नेगरी बजेट आउँछ’

241
  •  
  •  
  •  

ramsharna mahatकाठमाडौं, ८ वैशाख (ओएनएस) : अर्थमन्त्री डा.रामशरण महतले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यसहितको विकासमुखी बजेट आउने बताएका छन् ।

मंगलबार राजधानी भएको एक कार्यक्रममा उनले छर्ने प्रवृत्तिको बजेट नल्याउने स्पष्ट पार्दै सामाजिक न्यायमुखीसहितको आर्थिक फड्को मार्ने उद्देश्यको बजेट आउने बताए । देश अत्याधिक आर्थिक वृद्धिको अवस्थामा रहेको भन्दै परिणामका लागि धैर्य गर्नुपर्ने अर्थमन्त्रीको भनाई थियो ।

‘६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित बजेट बनाइदैछ,’ महतले भने,‘ बजेट तिव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यको हुन्छ ।’

आफू विगतमा अर्थमन्त्री हुँदा इतिहासमा सबैभन्दा बढी ५.८ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको स्मरण गराउँदै त्यसै अनुरूपको कार्यक्रम ल्याउने तयारीमा रहेको बताए ।

बजेटले लगानी र उत्पादन वृद्धिलाई महत्व दिने उल्लेख गर्दै अर्थमन्त्रीले गएको वर्ष विदेशी लगानी ओइरिएको र स्वदेशी लगानीमा पनि उच्च वृद्धि भएबाट आफू निकै उत्साहीत भएको धारणा राखे । उनले भने,‘विदेशी लगानी दुई गुणाले बढेको छ ।’

भारतसँग नयाँ व्यापार सम्झौता हुन लागेको बताउँदै अधिकतम् नेपाली सामान विना भन्सार भारतको बजारमा जाने वातावरण बनाउन सरकार सक्रिय रहेको अर्थमन्त्री महतले बताए

मन्त्री महतले वर्तमान सरकारले १४ महिने कार्यकालमा आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको तथ्यांक प्रस्तुत गरे । गत आर्थिक वर्ष ५.२ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा यस आर्थिक वर्ष पनि कम्तिमा ५ प्रतिशत वृद्धि हुने बताए । मौसम प्रतिकूल हुँदा धान र गहुँको उत्पादनमा कमी आएर आर्थिक वृद्धि अपेक्षा अनुसार हुन नसकेको बताए ।

मुद्रा स्फिती ९ प्रतिशतबाट ७ प्रतिशतमा झरेको महतको भनाई थियो । खाद्यपद्धार्थमा मूल्यवृद्धि भएको स्वीकार्दै गैर खाद्यपद्धार्थमा ५ प्रतिशतले मूल्यवृद्धि भएको तथ्यांक प्रस्तुत गरे । सरकार मूल्यवृद्धि रोक्न गम्भीरताका साथ लागेको बताए । राजश्व संकलन २० प्रतिशतले वृद्धि भएको बताए । भुक्तानी सन्तुलन सकारात्मक भएको महतको भनाई थियो ।

उत्पादन वृद्धितर्फ अपेक्षाकृत सफलता हासिल गर्न नसकिएको बताउँदै उनले राजनीतिक संक्रमण लम्बिनु, बन्दहडताल र अवरोधले उत्पादन क्षेत्र कमजोर बनाइरहेको सुनाए ।  उनले भने,‘विकास र उत्पादनमा अझैपनि अवरोध छ । यसले समग्र आर्थिक क्षेत्रमा नकारात्मक असर पु¥याइरहेछ ।’

जलविद्युत उत्पादन हुनैलाग्दा पनि ट्रान्समिसन लाइन निर्माणमा अवरोधका कारण समस्या आइरहेको गुनासो गर्दै महतले ६० मेगावाटको माथिल्लो त्रिशुली जलविद्युत आयोजनाले यसै वर्षबाट र डेढ वर्षमा तामाकोशी आयोजनाले उत्पादन शुरू गर्ने भएपनि ट्रान्समिसन लाइन निर्माणमा अवरोध हुँदा समस्या आएको बताए । विकासलाई अवरोध गर्ने प्रवृत्तिको अन्त नगरी आर्थिक विकासको लक्ष्य हासिल हुननसक्ने उनको तर्क थियो ।

एक दर्जन पाँच तारे होटल निर्माण र सिमेन्ट उद्योगमा अरबौंको लगानी भित्रिएको जानकारी दिदै विकासका क्षेत्रमा पनि गति बढेको जानकारी गराउँदै दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया बढेको बताए । अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक, युरोपेली बैंक लगानी गर्न आइरहेको उल्लेख गरे ।

देशले अपेक्षित आर्थिक प्रगति हासिल गर्न नसकेको आलोचनातर्फ संकेत गर्दै भने,‘विकास भनेको आकाशबाट सुनको डल्ला खस्ने र सिङ वा जुरो निस्कने होइन । काम भइरहेको छ नतिजा पनि आइरहेछ ।’ आर्थिक प्रगतितर्फ देश लम्किरहेकाले आफू निकै उत्साही भएको महतको भनाई थियो । तर, राजनीतिक अन्यौलता र बन्द हडताल विकासको मुख्य बाधक भएको बताए ।

राजनीतिक समझदारीको चरणमा पुगेकाले संविधानसभा र व्यवस्थापिका संसदको बैठक सुचारु हुने दावी गर्दै उनले बैशाख १० गतेबाट संविधानसभा बैठक शुरू हुने र यो वर्ष बजेट समयमै पारित हुने बताए ।


  •  
  •  
  •