महतले मोदीलाई भेट्न पाएनन्

167
  •  
  •  
  •  

काठमाडौं २९ जेठ ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार भेट्ने कार्यक्रम तय भए पनि अन्तिम समयमा स्थगित भयो। महतले मोदीलाई शुक्रबार भेट्ने सम्भावना पनि लगभग नरहेको बताइएको छ।

स्रोतका अनुसार अर्थमन्त्री महतसँग बुधबार भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री मोदीलाई आफूमार्फत निमन्त्रणा जानुपर्ने संकेत गरेकी थिइन्।

‘स्वराजले आफूमार्फत नै मोदीलाई निमन्त्रणा दिन महतलाई संकेत गरेको हुनुपर्छ’, जानकार स्रोतले भन्यो, ‘महतले भने आफैंले व्यक्तिगत रूपमा मोदीलाई भेटेरै निमन्त्रणा हस्तान्तरण गर्न खोजेको देखिन्छ।’

मोदीसँगको बिहीबारको भेटघाट स्थगित भएसँगै उनको नेपाल भ्रमणसमेत अनिश्चित देखिएको छ। महतसँगको भेटमा भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतबाट कोही न कोही दाता सम्मेलनमा सहभागी हुने बताएका थिए।

महतले मोदीलाई स्थानीय समयअनुसार ४:३० बजे भेट्ने र प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट असार १० मा हुने दाता सम्मेलनमा सहभागी हुन गरिएको निमन्त्रणा दिने कार्यक्रम तय गरिएको थियो।

‘हामीले साँझसम्म पनि भेटघाटका लागि प्रयास ग:यौं। तर भेटघाट मिलाउन सम्भव भएन’, नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने।

महतको भेटघाट रद्द हुनुको कारण अझै खुल्न सकेको छैन। भारतीय उत्तरपूर्वी राज्यहरूमा देखिएका समस्यामा मोदी व्यस्त रहनुपरेका कारण बिहीबारको भेट सम्भव नभएको बताइएको छ।

‘भारतीय सहयोगप्रति नेपालीको बुझाइ के छ?’
यसैबीच नेपाली समकक्षी डा. महतसँग नयाँदिल्लीमा भएको भेटमा भारतीय अर्थमन्त्री जेट्लीले भूकम्पको विपत्तिलगत्तै भारतले नेपाललाई उपलब्ध गराएको सहायताप्रति नेपाली जनताको बुझाइबारे चासो राखेका छन्।

भूकम्पपीडितहरूले भारतले उपलब्ध गराएको सहयोग नपाएको भन्ने समाचार नेपालका केही मिडियामा आएपछि भारतले यस्तो चासो देखाएको बताइएको छ।

‘भारतले भूकम्प पछि दिएको सहयोगप्रति नेपाली जनताको बुझाइबारे उहाँ (अर्थमन्त्री जेट्ली) को चासो थियो’, भेटपछि अर्थमन्त्री महतले अन्नपूर्णसँग भने, ‘उहाँले अबको पुनर्निर्माण तथा पुनस्र्थापनामा नेपाल सरकारको योजना के छ भन्नेबारे पनि बुझ्न चाहनुभयो।’

महतका अनुसार जेट्लीले भूकम्पपछिको आवश्यकता मूल्यांकन (पीडीएनए) विवरण आएपछि नेपालले चाहेजति पुनर्निर्माण तथा पुनस्र्थापनाको काममा पूर्ण रूपमा सहयोग पु:याउन भारत तयार रहेको बताएका थिए।

भेटमा महतले पुनर्निर्माणका लागि भइरहेको गृहकार्यबारे अवगत गराए। चार दिनपछि पीडीएनए तयार भइसक्ने उल्लेख गर्दै महतले वैशाख १२ को भूकम्पबाट नेपालले आठ बिलियन अमेरिकी डलरबराबरको भौतिक क्षति बेहोर्नुपरेको बताए।

‘भूकम्पले ध्वस्त पारेका १० हजार विद्यालय र स्वास्थ्यचौकी तथा पाँचदेखि सात लाख निजी घर पुनर्निर्माण गर्नुपर्नेछ’, महतले जेट्लीसँगको भेटमा भनेका थिए।

महतले दुई देशबीचको निकट सम्बन्धका कारण पनि भारतका तर्फबाट औपचारिक तथा अनौपचारिक दुवै सहयोग हुनुपर्ने बताएका थिए।

उनले असार १० मा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय दाता सम्मेलनमा भाग लिन जेट्लीलाई निमन्त्रणापत्र पनि हस्तान्तरण गरे। निमन्त्रणा स्वीकार गर्दै जेट्लीले भारतका तर्फबाट कुनै एक उच्च पदस्थ अधिकारीले सहभागिता जनाउने बताएका थिए।

यसैगरी भारतीय विदेशसचिव सुब्रमण्यम जयशंकरले बिहीबारै अर्थमन्त्री महतसँग शिष्टाचार भेट गरे। सो अवसरमा दलहरूबीच हालै भएको १६ बुँदे सहमति, पछिल्लो राजनीतिक घटनाक्रम र भूकम्प पछिको पुनर्निर्माणमा भारतीय सहयोगबारे कुराकानी भएको थियो।

‘पीडीएनएको अध्ययनपछि मात्रै हाम्रो कुन खालको सहयोग हुने भन्ने टुंगो लाग्नेछ’, जयशंकरलाई उद्धृत गर्दै भेटमा सहभागी एक अधिकारीले भने।

मन्त्री महतको भ्रमणमा दुई देशबीच लामो समयदेखि नीतिगत तहबाट टुंगिन बाँकी रहेका मुद्दाबारे पनि छलफल भएको छ।

महतले विशेषगरी नेपाल-भारतबीचको व्यापार असन्तुलन, नेपाली सामान भारत प्रवेश गराउँदा सुविधा, सीमामा देखिएको मुद्रा विनिमयको समस्या, भारतमा पनि नेपाली बैंकका शाखा स्थापना गर्ने तथा नेपाली व्यापारीलाई भारतमा अझै राम्रो वातावरण तयार गर्नेलगायत विषयमा कुराकानी भएको थियो।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •