एमाले नेता ढकालको पशुपतिमा अन्तेष्टी

243
  •  
  •  
  •  

काठमाडौ, २३ चैत(ओएनएस) : आइतबार निधन भएका एमालेका नेता रामनाथ ढकालको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । केहीबेरअघि ढकालको पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको हो ।

यसअघि उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय बल्खुमा राखिएको थियो । ढकाललाई अन्तिम विदाइ गर्न एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा अन्य पार्टीका नेताहरु उपस्थित भएका थिए । ढकाललाई पार्टीका अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । यस्तै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ,  पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल थिए ।

यस्तै, स्थानीय विकास मन्त्री तथा कांग्रेस महामन्त्री प्रकाशमान सिंह, कांगेस नेता अर्जुननरसिंह केसी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादीका नेता टोपबहादुर रायमाझीलगायतका नेताहरूको बल्खुमा उपस्थिति थियो ।

ढकालको सम्मानमा नेकपा एमालेले तीन दिनसम्म देशभरिका पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सोमबार बसेको आकस्मिक बैठकले पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वसंसद ढकालको सम्मानमा आधा झण्डा झुकाउनका साथै औपचारिक कार्यक्रमहरु तीन दिनसम्म आयोजना नगर्ने, पार्टी कार्यालयहरुमा शोक पुस्तिका राख्ने र आगामी २०७२ बैशाख ४ गते श्रद्धाञ्जली सभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीहरुलाई निर्देशित गर्ने निर्णय समेत गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीद्वारा जारी विज्ञप्तिमा ढकालको असामयिक र दुःखद निधन भएकोमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । स्वाइन फ्लुबाट संक्रमित ढकालको आइतबार ग्राण्डी अस्पतालमा निधन भएको थियो ।


  •  
  •  
  •