एमाले नेता ढकालको निधन,भोेलि दाहसंस्कार गरिने

295
  •  
  •  
  •  

Ramnath-Dhakalकाठमाडौ,  २२ चैत ‍(ओएनएस)  : स्वाइन फ्लुबाट संक्रमित नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसांसद रामनाथ ढकालको आइतबार उपचारको क्रममा निधन भएको छ ।

काठमाडौको टोखास्थित ग्रान्डी अस्पतालमा एक साताअघि भर्ना भएका ढकालको अाइतबार दिउँसो १.४० बजे निधन भएको हो ।

उनलाई थप उपचारार्थ नयाँदिल्ली लैजाने तयारी भए पनि मौसम खराबी तथा अवस्था गम्भिर भएपछि अन्तिम समयमा दिल्ली लगिएको थिएन । डाक्टरहरुले उनको अवस्था खतरा रहेको तथा दिल्लीमा हुने उपचार ग्रान्डीमै हुने बताएका थिए ।

ढकाललाई थुप्रै खालका स्वास्थ्यसम्बन्धी समस्या देखिएको डाक्टरहरुले बताएका थिए । ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर ढकालको उपचार भइरहेको थियो । रुघाखोकी र ज्वरो बढेपछि  ९ दिनअघि ढकाल अस्पताल गएका थिए ।

रुपन्देही, बुटवल निवासी ढकाल रूपन्देही क्षेत्र नं. ५ बाट अघिल्लो संविधानसभामा निर्वाचित नेकपा-एमालेका सभासद थिए भने संसदकाे राज्य व्यवस्था समितिका सभापति समेत थिए । २०१९ सालमा गुल्मीको खड्गकोटमा जन्मेका ढकाल आफ्नो वरिपरि राजनैतिक वातावरण रहेकाले क्रमशः राजनीतितर्फ अभिमुख हुँदै २०३९ सालदेखि राजनीतिमा सक्रिय भएका थिए ।

२०४४ सालमा पहिलो पटक पक्राउ परेका ढकालले तीन पटक गरी डेढ वर्ष जेल जीवन बिताएका थिए । अनेरास्ववियु अध्यक्ष, पार्टी केन्द्रीय विभाग सचिव, अञ्चल सचिव र लुम्बिनी अञ्चल इन्चार्ज रहिसकेका ढकाल हाल एमाले पोलिटब्यूरो सदस्य थिए ।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक ढकालका एक छोरा, एक छोरी छन् । २०५१ सालको आमनिर्वाचनमा गुल्मी क्षेत्र नं. १ बाट विजयी ढकाल २०५६को संसदीय निर्वाचनमा पनि सहभागी थिए ।

यसैबीच नेकपा एमालले ढकालको निधनप्रति शोक विज्ञप्ति निकाल्दै मर्माहत भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ चिकित्सकहरूको अथक प्रयाशका बाबजुद उपचारको क्रममै भएको उहाँको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको छ । दुःखको यस घडीमा नेकपा (एमाले) केन्द्रीय कार्यालय कमरेड रामनाथ ढकालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’

ढकालको पार्थिक शरीरलाई भोलि चैत्र २३ गते बिहान ८ः०० बजे पार्टी केन्द्रीय कार्यालय, मदननगर, बल्खुमा अन्तिम श्रद्धाञ्जलीका निम्ति राखिने र भोलि नै ११ बजे पशुपति आर्यघाटमा विधिवत् दाहसंस्कार गरिनेछ।


  •  
  •  
  •