महाभूकम्पः त्रासदीपूर्ण त्यो सय घण्टा

183
  •  
  •  
  •  

rameshwor shahठ्याक्कै सम्झिन सकिन, झण्डै दुई दशक भएको थियो होला । अघिल्लो पटक उत्तरी सीमानासँग जोडिएको चिनीया भू-भाग तिब्बतको खासा गएको । घरछिमेकका दुईमित्रका साथमा शुक्रबार दिउँसो २:३० तिर निस्कियौ । त्यतिबेला पनि सिमसिम पानी परिरहेको थियो । तातोपानी पुग्दा बेलुकाको सात बजेको थियो । डाँडामुनि भीरछेऊका अग्ला घरहरु हेर्दै “पहिरो गए के होला” भनेर कुरा गर्यौ । भोली चाँडै फर्कनुपर्ने भएकाले चाँडै सुतियो ।

तातोपानी – एक रमणीयधार्मिक मान्यताको स्थान । नुहाउने ठाउँ व्यवस्थित भईसकेको रहेछ । महिला र पुरुषको नुहाउने, कपडा फेर्ने ठाउँ आदिको छुट्टाछुट्टै व्यवस्था रहेछ । बिहान ७ बजे नै नुहाएर होटल फर्कियौ । यति टाढा आएपछी खासासम्म जाने निर्णय गर्यौ । ८ बजे हामी लिपिंग तिर उक्लयौं । सवारी चालक टेक बहादुर कार्कीले नागरिक्ता नबोकेकोले पारी जान पाएनन् भने मेरो नागरिकता पनि नेपाली कागजको भएका कारण चाइनिज इमिग्रेशनले जान दिएन । म भित्र छिर्न नपाएपछि मसँगै गएका कृष्णजी र फर्किनुभयो । कृष्णजीले चिनेको एक जना भन्सार कर्मचारीले कुरा मिलाएपछि चाइनिज इमिग्रेशनले छिर्न दियो ।

खासा माथि पुग्दा १० बजिसकेको थियो । बजार नखुलेकाले चिया खान थाल्ये । छिटो तल फर्कने कुरा भएपछि हामी फर्कँदै गर्दा साथीहरू जुत्ताको पसलमा छिरे ।

शनिबार- कहालीलाग्दो त्यो कालो दिन

त्यतिकैमा घरबाट फोन आयो । फोनमा कुरा गर्दागर्दै सपना(श्रीमती) जोडसँग चिच्याएको सुने । के भयो भन्दै गर्दा भवनहरू भत्किरहेकाजस्तो आवाज आयो । सबै हल्लिरहेको थियो । बल्ल मैले भूकम्प आएको थाहा पाए । मानिसहरू कोलाहल मच्चाउँदै खुला ठाऊँतर्फ दौडँदै थिए ।

यस्तैमा त्यहाँका भवनहरू चिरापर्दै गएको देखे । केही भवनहरुको प्लाष्टर उक्केर झर्दै गरिरहेको थियो । मानौ यी भवनहरु झर्न तयार पर्दै थियो । म सडकको बीचबाट माथी हेर्दै कुद्न थाले । कुद्दै प्रहरीको तल्लो चेक प्वाइन्ट रहेको ठाउँ पुग्दा केबी सँगै थिए तर कृष्णजीलाई मैले देखिन । अगाडी बढ्न सकिन । भूकम्पको धक्काले गएको पहिरोले गाडी, घर सबै पुरिएको थियो ।

घरपरिवारमा सबै सकुशल रहेको निकै लामो प्रयासपछि मात्र थाहा पाए । यस्तैमा तलै छोडेको टेकबहादुरलाई सुरक्षित ठाउँमा गएर आफ्नो ज्यान जोगाउन आग्रह गरे । आफू उभिएको ठाउँ सुरक्षित थिएन तर के गर्ने, कता जाने, केही सुझेन । त्यतिकैमा अर्को ठूलो झट्का दियो । प्रहरीले सडकछेउको ठूलो भवन बिचबाट कुददै डाँडा तल जान भने ।

rameshwor shah quake memory7ओत लाग्न गएको डाँडा भिरालो थियो । माथिबाट जे झरे पनि सबै त्यही आएर थुप्रिने थियो । तर, अन्य कुनै विकल्प नभएकाले त्यही बसियो । त्यतिकैमा छोराको फोन आयो । धरहरा रहेन, भक्तपूरतिर बेहाल छ भन्यो । मन झनै व्यग्र भयो । फोनमा कुरा गर्दै गर्दा फेरी अर्को झट्का आयो । उक्त भूकम्पपछि नजिकैको एउटा डाँडा खस्दै सडकछेऊमा रहेका मानिस गाडी, घर, सबै पुरिन थालेको दृश्य टुलुटुलु हेर्न थाले ।

बस्ने ठाउँ नभएको बेला खाने पिउनेको त कुरै भएन । त्यतिकैमा चाईनिजहरुको एउटा टोली तलतिर आएको देखें । कोई ठुलै स्थानीय नेता हुनुपर्छ जस्तो लग्यो । सुरक्षाकर्मीहरू अगाडि-पछाडि गरि आए । तिनले चाईनिज भाषामा केहि भने । उसले “नआत्तिकन बस्नु, हामी सबै व्यवस्था गर्दैछौं” भनेको रहेछ ।

साथीहरुले नेपाल तिर लागौ भनिरहेका थिए । तर, बाटो थाहा थिएन र समयले पनि डाँडा काटिसकेको थियो । गर्मीको महिना भनेर तातो लुगा केही नलगेकाले जाडो भइरहेको थियो । यस्तैमा केही पर चाइनिज परिवार देख्यौ र त्यतैतिर लाग्यौ । ८ बजेतिर केही चाइनिजहरूले पानी, चाउचाउ, बेकरी, जुस आदि ल्याएको देखे । सँगै रहेका चाइनिजहरुलाई थपेर खानेकुरा, पानी दिँदै थियो । तर, उनीहरूले हामीतिर फर्केर पनि हेरेनन् । कस्तो निर्दयी । आफ्नो देशको सस्कृती सम्झें । अतिथी देवो भवः डर, त्रासले मुख घाँटी सुक्छ भ्नने सुनेको थिए, हो रहेछ । लाजै पचाएर हात अगाडी सार्यौ र मुखैफोरेर “वाटर प्लिज” भन्यौ । उनीहरूले आधा लिटर पानीको बोलत थमाइदिए र हामीले त्यही पानी बाँडेर खायौ ।

पानी पिएपछि कृष्णजी ठाऊँको खोजीमा तल झरे र एकछिनपछि अर्का साथीपनि तल झरे । उनले पाँच मिनेटसम्म नआए तपाईपनि तलै आउनुस् है भन्दै गए । डाँडा मुनीको ओरालो ठाउँ,कति पनि सुरक्षित थिएन । माथी बरू रुखैरुखले केहि छेक्ला वा दुईचार पाईलासम्म छल्न सकिएला कि भन्ने लागेर म त्यही बसिरहेँ । चिसोले कठ्याँग्रीसकेको थिए । केही न्यानो होला भनेर रूमाल टाउकोमा बाँधेको रूमाल पनि चिसो रहेछ ।

राती ९:४५ बजेतिर केबी लिनआएपछि मन नलागी नलागी तल गए । रेडिमेड चिहान जस्तो ठूलो खाल्डोमा फुटेका जस्ता अनि बिग्रेको प्लाईको छानो बनाई दुईतिरकाठको दलिनमा ८-१० जना नेपालीहरू बसेका रहेछन् । कृष्णजी तिनीहरूसँगै कम्बलमा गुटमुटिएको थिए ।

त्यहाँ वियरका क्यान र बिस्कुट रहेछ । आन्द्रा बटारिसकेकाले मैले एक टुक्रा बिस्कुट मुखमा हाले । त्यहाँ रहेकी एउटी बहिनीले बस्नुस् भन्दै उनले ओढेको कम्बल मतिर सारिन् र त्यही कम्बलले थोरै भएपछि शरिर छोपेर सुते । माथी जस्ताबाट पानी चुहिएको र चिरापरेको डाँडा भासिएर खस्ला भन्ने डरले रातभर जाग्राम रहेँ ।

आईतबार (दोश्रो दिन) ( महाभूकम्पले निम्त्याएको विनाश)

चाइनिज अधिकारीसँग नेपाल जाने विषयमा कुरा गर्दा पहिरोले त्यता जाने केही सम्भावना नरहेको एकोहोरो जवाफ दिए । उद्धारका लागि कति समय लाग्ने तथा कति क्षति भएको छ भन्ने बारे केही थाहा पाउन नसकेपछि पानीसमेत पिउन नपाउने यो ठाऊँमा बस्नुभन्दा तत्काल सीमाना कट्नु उचित सम्झेर त्यहाँ रहेका नेपाली बटुले र छोटो बाटो हुँदै करिब १८ किलोमिटरको बाटो कटेर ७:४५ तिर चाइनिज इमिग्रेशनमा पुग्यौ । कसैलाई सीमा कट्ने आदेश रहेनछ । त्यहाँ करिब ३ सय जना जम्मा भइसकेका थियौ । करिब साढे ८ बजेतिर हामीलाई छाडियो । मितेरी पुल पछिको दृश्य भयावह र मार्मिक थियो । बाटो जति पहिरोले पुरेको थियो । लिपिंग बजार पुरै ध्वस्त थियो । घर, गाडी, मानवीय क्षतिको यकिन गर्ने कुनै अवस्था थिएन । अब ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्नु चुनौतीपूर्ण थियो । बाटोको पहिरो नाघ्दै अगाडि बढ्यौ । थिचिएका घर, गाडी र सो भित्र रहेका कयौ लास, कुल्चिदै-नाघ्दै बसपार्क आईपुग्यौ । आफ्नो गाडी अगाडि छोपिएको वस्तुमाथि आँखा पर्यो । एक गाडिको चालकको शव रहेछ । आंग जिरिङ्ग भयो ।

rameshwor shah quake memory2त्यहाँबाट कोदारी उच्च मावि रहेको चौकीडाँडामा पुगे । त्यहाँ टेकबहादुरले डाँडामाथीबाट हात हल्याइरहेको देखेपछि मन अलि सन्तोष भयो । पहिरोले बाटो पुरिएको र मोबाइल नेटवर्कले काम नगरेपछि तत्काल घर पुग्ने विकल्पहरू सकिए । यस्तैमा १२ बजे ठूलो भूकम्प आउँछ भन्ने व्यापक हल्ला चलेको रहेछ । १२ बजेर २ मिनेट जादा सानो झट्का दिएपछि भूकम्प सकियो भनेर मानिसहरु हर्षित पनि भए र दुई सय बढीको संख्यामा मानिसहरु हिडेर बाह्रबिसेतिर लागे । बाटोको अवस्था यकिन थाहा नगरी जानुहुन्न भनेर हामी त्यही बस्यौ ।

एकछिनपछी सिन्धुपाल्चोकमा ठूलो भूकम्प गयो । म भन्दा १० मिटरजति पर रहेको स्थानीय क्लबको दुइतले भवन ठूलो आवाजका साथ ध्वस्त भयो । कम्पन यति ठूलो थियो की, लाग्यो पुरै डाँडा नै भासिन्छ । ठूलै कोलाहल मच्चियो । सबैजना डाँडाको माथितिर चिच्चाउदै भाग्न थाले । शून्यतामा पुगेको म जहाँको त्यही उभिएर मृत्युलाई नजिकबाट हेर्ने चेष्टा गरिरहेको थिए ।

अलिपर बाटोछेउकै डाँडा झरेको ठुलो आवाज आयो । दुई जना बच्चा पुरेको सुने । एकैछिन अगाडी हिडेर गएकाहरुलाई सम्झे । कति गन्तव्यमा पुगे कति त्यही पुरिए कुनै आकडा भएन । विवस भएर सबै हेर्न र सुन्न बाध्य थिए । डाँडा माथि उक्लेर ठू-ठूला ढुंगाहरुलाई हेरे, ती ढुंगा तल झर्यो भने धुलो पिठो भइन्छ भन्ने जस्तो लाग्यो । म उभिएको डाँडा अघिनै खाली भैसकेको रहेछ । टेकबहादुर माथिबाट इसाराले बोलाइरहेको थियो । माथिल्लो डाँडामा पुगे । दुईदिन भएको थियो अन्नको दाना मुखमा नपरेको । पानी खान पाइएको थिएन ।

rameshwor shah quake memory3त्यहाँ स्थानीयहरुले पाल टाग्न थाले । आफूले पनि केहि सहयोग गरे । स्थानीयहरुले गुन्द्रुकको झोल र खाना बनाएका रहेछन् । हामीलाई एउटा कचौरामा खाना र गुन्द्रुकको झोल दिए । असाध्यै भोक लागेपनि त्यतिका धेरै परिवार लाई सानो डिकच्चीमा पकाएको थोरै खान्की देखेर अप्ठ्यारो महसुस भएपनि उनीहरूको आग्रह पछि खायौ । उनीहरुको घर पूर्णरुपमा ध्वस्त भएको रहेछ । भोलीको व्यवस्था थिएन तर कस्तो आतिथ्य भाव चिनियाँहरूको ब्यवहार सम्झे र सम्झे सायद यही कारण थियो, मलाई ज्यानकै बाजी थापेर आफ्नो भूमी टेक्न आतुर बनाउने । चौरासी ब्यन्जन भन्दा पनि मिठो थियो त्यो गुन्द्रुक भात ।

१० बजेको थियो, जोडले हल्लायो । डाँडा झर्यो भनेर सबै चिच्याए । टर्चलाईटको विम्बमा माथिबाट ढुंगाहरू झरेको देखे । तर, तल नआईपुग्दै रोकियो । फेरी एकपटक काल टरेको थियो ।

सोमबार (तेश्रो दिन) – उद्धार को पर्खाई

साथीहरू हिडेर भएपनि जाने तयारीमा थिए । तर, बाटोको असव्था नबुझी जानु उपयुक्त नहुने भन्दै रोके र सशस्त्रका इन्स्पेक्टर टिजे बस्नेतसँग कुराकानी गरेर सञ्चारका लागि टावर चलाउनुपर्ने कुरा राखे । यसका लागि इन्स्पेक्टरले १० जना सुरक्षाकर्मी लिपीङ्ग पठाउने तयारी गरे । जेनेरेटर चलाउने प्राविधिक माथि जान मानेन । मितेरी क्लबका साथीहरूले दुई जना सहयोगी तयार पारे । टोली लिपिङ्गतर्फ लाग्यो । संचार चल्ने आश भयो ।

केबी र टेक बहादुरले कृष्ण हिडेर गएको सुनायो । टाउकोमा हात राखेर उ सकुशल घर पुगोस् भन्ने प्राथना गर्नु बाहेकको विकल्प थिएन ।

लिपिंगतिर धुवाको मुस्लो देखेर जेनेरेटर चल्यो होला माने । तर, जेनेरेटर पड्केको रहेछ । एक हबल्दारले केही समयपछि VHF सेटका सामान ल्याए र सेट जोडेपछि सबैतिर सम्पर्क सुरू भयो ।

rameshwor shah quake memory1करिब २०० विदेशी र बहिरियागरी हामी बसेका डाँडोमा झण्डै ७ सय जना थियौ, जसमा तीन दर्जन जति अशक्त र घाइते थिए । दिउँसो ४ बजे पछि आधा घण्टाको फरकमा दुई वटा हेलिकोप्टर आए तर परैबाट फर्किए । ५ बजे तिर एकपटकमा तीनजनासम्म बोक्न सक्ने सैनिक हेलिकप्टर आयो । अध्यारो हुन्जेलसम्म तिन पटकको ओहोर दोहोरमा नौ जना बिरामी लग्यो ।

मंगलबार (चौथो दिन) – विवशताको परकाष्ठा

बिहान ४:३० बजे नै तल झर्न तयार भइयो । भग्नावशेष र पहिरोमा पुरिएको सयौँ लास झिक्न नसकेको बेला बाटो बन्ने त कहिले-कहिले । हिड्ने तयारी गरिरहेका बेला काठमाडौंबाट तीन दिन लगाएर दुई जना भाईहरू हिड्दै आईपुगे । बाटोको अवस्थाबारे सुन्दा मुटुले ठाउँ छोड्यो । बगिरहेको तल खोला अनि निरन्तर पहिरो गई रहेको ठाडो पहाड मुनिको बाटो । प्रायजसो पुरिएको बाटो अनि त्यसभित्र दबिएको अनगिनत छरपस्ट लास । उनीहरुले देख्दा देख्दै दुई दर्जन बढी लास माथिनै खुट्टा टेकेर बाटो काटेका रहेछन् । हे भगवान, कस्तो विपत ।  कति त आधि पुरिएर छटपटाई रहेको अर्धजीवितनै थिए रे ।

सिन्धुपाल्चोककै सहायक सिडिओ र केहि एनआरएनका साथीहरू पनि त्यहाँ थुनिएका रहेछन् भन्ने थाहा पाएपछि उनीहरुको उद्धारको पहल गर्नुपर्यो भन्ने निष्कर्षका साथ सबै पक्षसँग छलफल गर्यौ । तीनजनाको टोली बन्यो । चौतारा र काठमाडौँ जाने टोलीमा मलाई पनि समावेश गर्ने निधो भयो । बिहानको ११ बजे उही तिन सिटर आर्मीको हेलिकप्टर दुईजना चालकका साथ आयो । उनीहरुलाई बिरामी बाहेक नलाने आदेश रहेकाले उद्धारमा जाने सल्लाह सल्लाह मै रह्यो ।

rameshwor shah quake memory5इन्स्पेक्टर बस्नेतले कसैलाई केही खबर भए दिनुस्, रेडियोबाट रिले गर्ने कोशिस गर्छु भने । घरमा सकुशल रहेको र डा. उपेन्द्र महतोलाई आफू विपतमा रहेकोसम्म खबर लेखे । धेरै प्रयास गर्दा पनि कतै सम्पर्क हुन नसकेको पछी थाहा पाए ।

दिउसोको ४:३० बजिसकेको थियो । सिडिओ र आईजीको ठाउँमा सशस्त्रका एकजना डिआईजी आए । दुई बोरा चामल, चिउरा र केही पोका चाउचाउ ल्याएका रहेछन् । ईन्जिनको ठूलो आवाज अनि पानी परीरहेको । हामीले भनेको के सुन्यो के सुनेंन तर तत्कालै सबै व्यवस्था गर्छु भनेर दुईजना बिरामी र एउटा बच्चाको साथ उनीहरू फर्किए ।

डाँडामा भएको खाल्टो पुर्ने र हेलिप्याड क्षेत्रलाई समतल र फराकिलो बनाए ठुलो हेलिकप्टर आउछ भनेर खाल्डोमा ढुंगा ओर्सान थाल्यौ । कोहि डिलहरू काटेर सम्याउन थाले भने कोहि माटो ओर्सान । तीन घण्टाको प्रयासपछि फराकिलो हेलीप्याड तयार भयो । झपक्क साँझ पनि परी सकेको थियो । अब त पक्कैपनि ठूलो हेलिकप्टर अवतरण गर्ने भयो । तत्कालै उद्धार सम्भव हुन्छ कि भन्ने आश पलायो । चारदिन भैसकेको थियो । आइतबार बेलुकीदेखी खान पाइएको थिएन । दिनभरीका पर्खाई र व्यग्रताले केही पत्तो पाईन तर, अब भोक लागेको महसुस भयो । बास बसेको स्थानमा ढिँडो गुन्द्रुक पकाएका रहेछन् । त्यहि बाडेर खायौं । एउटा परिवार अर्को ठाउमा सरेकोले गर्दा अडेस लाग्ने ठाउँ भयो । जस्ता माथि प्लास्टिक ओछ्याएको थियो । तत्कालै निदाए पनि तर, घरिघरीको कम्पनले ब्युँझने र निदाउने क्रम रातिको ३:१५ सम्म चल्यो । त्यसपछी निदाउन सकिन ।

बुधबार(पाँचौ दिन)– महामारीको त्रास

खाने, सुत्नेको ठेगान छैन । अन्न बिनाको शरीर, आन्द्रै पनि बटारी सकेको थियो । नित्य्कार्य समेत बिर्सिसकेको थिए । भग्नावशेष र पहिरोले पुरेको अनगिनत लास र मलमुत्रले पुरै डाँडा दुर्गन्धित हुन थालिसकेको थियो । हैजा र महामारीको ठूलो त्रास थपियो । एकदिन उद्धार हुने आशामा आफूलाई कसरी सुरक्षित र व्यस्त राख्ने चुनौती भयो । त्यहाँका स्थानीयहरुसँग निकै घुलमिल भईसकेको थिए । परिवारसँग सम्पर्क नभएको चार दिन भएको थियो आफू सुरक्षित भएपनि उनीहरू कस्ता छन्, केही मेसो पाउन सकेको थिईन । एक्लै हिडेको साथी घर पुग्यो पुगेन थाहा भएन ।

rameshwor shah quake memory8बिहानको १० बजेको उद्धारका हेलिकप्टर आउन शुरु गरे । बिरामीको साथ साथै १७–१८ जना युरोपियन र क्यानेडिनहरुलाई प्राथमिकतामा उद्दार गर्ने भयो । मनमनै सोचे । फोन सम्पर्क हुनसकेको भए हामीलाई पनि एयरलिफ्ट गर्ने व्यवस्था हुन्थ्यो कि ११ बजेतिर नविन भाई (स्थानीय)ले “दाई कसैलाई म्यासेज गर्नुहुन्छ, मेरो चाइनिज मोबाइलबाट हुन्छ” भन्यो । म तत्कालै सपनालाई सुरक्षित रहेको लेखे अनी डा. उपेन्द्र महतोलाई सिन्धुपाल्चोकको चौकीडाडाँमा उद्दारको पर्खाईमा रहेको बताए । यत्तिकैमा आफूसँग रहेको एनसेल मोबाइल शनिबार रोमिंगमा चलेको सम्झे । साथीसंगको बैट्रीप्याक मा जोडी नेटवर्क सर्च गर्न थाले । चाइनिज नेटवर्कमा जोडियो । सपनालाई फोन गर्दा सम्पर्क हुन् नसकेपछी डा. महतोलाई फोन गरे । तर, फोन नउठेपछि छोरालाई फोन गरे । फोन सम्पर्कपछि घरमा सब ठिक थाहा पाए र छोरालाई डा. महतोको घरमा जान भने । सिग्देल साब र जुगलजीसँग कुरा भएपछि उद्धारका प्रयास अगाडी बढेको थाहा पाए । फोन चलेको थाहा भए पछी सबैले आफ्ना परिवारजनसँग मेरो फोनबाट सम्पर्क गर्न थाले ।

एउटा हेलिकप्टर आयो । हामी तीन जना उद्धारको पहलका लागि चौतारा जाने भयौ । दुई जना अगाडिनै छिरे । तर,  हेलिकप्टर बिरामीहरुले ओभरलोड भईसकेकाले म गइन । आतंकित लिएर अब के गर्ने भनी सोच्दै केहि पाईला माथि उक्लेर एउटा डाँडामा थचक्क बसे । यस्तैमा हामी बसेको डाँडा अगाडी खोलापारी चाईनिज पट्टिबाट सुखा तर, ठुलो पहिरो झर्दै थियो । मैले केहीपर कसैले केही बेचिरहेको जस्तो लागेर टेकबहादुरलाई पठाए । उनले  ४-५ वटा फ्रुटी र प्लाष्टिकको थैलीमा च्यूरा र वाईवाई ल्याए । त्यही खान थाल्यौ ।

अघि चौतारा गएकोमध्ये एक जना फर्केका थिए । उनले चौतारामा मलाई रेस्क्यु गर्नुपर्ने कुरा भएको सुनाए । चौतारा गएका इन्स्पेक्टर बस्नेत फर्केर आए । म साथीहरुसँग च्यूरा खादै अब के गर्ने भन्ने सल्लाह गर्दै थियौ । राहत सामग्री सहित सिम्रीक एअरको हेलिकप्टर आयो । केहीबेरमा अर्को हेलिकप्टर पनि आयो ।

म हेरिरहे । आज जाने आश मारे । तर, इन्स्पेक्टर बस्नेतले मेरो हात तान्दै हेलिकप्टर तिर लगे । पाईलटले अगाडिको सिटमा बस्न लगाए । एकछिन त विश्वास नै भएन । साथीहरु तिर हेरे, देखिन । मैले बिदा समेत माग्न नपाउँदै हेलिकप्टर माथि पुगिसकेको थियो । साथीहरु भिडमा कतै हराएको हुनुपर्छ । मन खिन्न भयो । हेलिकप्टर उडिरह्यो । चालकसँगको सहयोगीले भित्र रहेका सबैजनाको नाम लेख्न भन्यो । मेरो नाम उनले पहिलेनै लेखेको रहेछ ।

अगाडी बसेकोले तलका दृश्य प्रष्ट देख्न सकेको थिए । त्यहाँको विभत्स दृश्य देख्दा मन दुखेर आयो । चौतारामा आइपुगेपछि सिडिओ र एलडिओसँग चिनजान गरे र माथिको अवस्थाबारे जानकारी गराए ।

केहीबेरमा एक सेनाका अधिकारीले सेनाको हेलिकोप्टर उद्धारको कार्य सकेर काठमाडौ जान तयार भएकाले त्यसैमा मलाई जान आग्रह गरे । प्राविधिक कारणले पटक-पटकको प्रयासबाट पनि इन्जिन स्टार्ट हुन नसकेपछि उक्त हेलिकोप्टर नजाने भयो । म भने बिरामी बोकेर आएको अर्को हेलिकोप्टरमा चढेर बाटोभरी विभत्स दृश्यहरू हेर्दै काठमाडौ आईपुगे । विमानस्थल बाहिर पर्खीरहेको छोरालाई अंगालो हाले र घर तिर लागे ।

अगाडिको सोच ।

घर पस्दा साँझको ठिक ७:५६ भएको थियो । आमा, बुवा, श्रीमती, छोरी, छोरा सबै मेरो प्रतिक्षामा थिए । घर-परिवार सँग पुनः भेट्न पाउने आश छोडी सकेको बेला सबैलाई सकुशल अगाडी पाउँदा अब बाचियो भन्ने लाग्यो । यो महाभूकम्प र त्यसले निम्त्याएको त्रासदीपूर्ण “त्यो सय घण्टा”ले मलाई जिन्दगीको फरक पाटोलाई बुझाएको थियो । जिन्दगी अमूल्य उपहार रहेको पनि बुझे र जिउँदा जिउँदै मृत्युपछिको सत्यता पनि बुझे । मानिसलाई बाच्न आखिर के नै चाहिने रहेछ भन्ने पनि अनुभव गरे ।

बाटोघाटो समेत नरहेको र भएगरेका पनि प्राय ध्वस्त भएका अनेकन दुर्गम गाउँ र बस्तीहरूमा उद्धार र राहत चाडैँ पुगोस् भनेर आफूले सके जानेका सबैलाई भनेको थिए । राष्ट्रियस्तरको यो विपतमा अनेकन ठाउँ ध्वस्त भएको सुनेको छु । तर, पनि आफुले प्रत्यक्ष देखे र भोगेकोले होला, उद्धार होस् या राहत वितरण, मेरो मन मस्तिष्कले सिन्धुपाल्चोकलाई केन्द्र बनाएको छ ।

आफू उद्धार भएको साता नबित्दै लिपिंगको बाटो खुल्ने संकेत पाउनासाथ गाडीले बोक्न सकेजति चामल, चिउरा, चाउचाउ, पाल आदि रातिनै ठिक पारि एकाबिहानै त्यता हिडे । आफू बस्दा चिने जानेका स्थानीय, समाजसेवी, मितेरी क्लबका सदस्यहरू, सशस्त्रका भाईहरू लगायतकालाई भेटे । जिल्ला बाहिरका प्रायजसो गईसकेका रहेछन् । स्थानीय पीडितहरु पनि अलि पातलिएका थिए । आफू बास बसेको ठाउँमा आफूलाई बस्न/खान दिएका दिदीहरू अझै त्यहि पालमुनि रहेको पाए । आफूले ल्याएको चामल, चिउरा आदि लिन तल आउनु भने । दुई परिवारले एक/एक बोरा चामल, चिउरा, चाउचाउ त लिए तर, सरकारबाट आएको हो कि भनेर सोधे । मैले ल्याएको हो भन्दा पैसा दिने कुरा गर्दा एकैछिन भावुक पनि भए । बिदा भएर बाँकीका राहत समानहरु मितेरी क्लब तथा स्थानीय प्रतिनिधिलाई पीडितलाई बाड्नु भनी जिम्मा लगाएर फर्के । निरन्तर गईरहने परकम्पनको त्रास हुँदाहुँदै राहत, उद्धार र पुनर्स्थापनाको काम जानु भनेको आजभोलिको प्राय दैनिकी बनेको छ । यस महा-विपदले बनाएको सामाजिक सदभाव र एकताको निरन्तरताको कामना गर्दछु ।

(लेखक शाह गैर आवासीय नेपाली संघ(एनआरएन)का अन्तर्राष्ट्रिय समन्वय परिषदका संरक्षक तथा पूर्वउपाध्यक्ष हुन् । )


  •  
  •  
  •