‘मौखिक’ पदलाई निरन्तरता दिने रणनीतिमा पौडेल

127
  •  
  •  
  •  

खेमराज थापा :-

काठमाडौं, ५ साउन (ओएनएस) । कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला उपचारका लागि अमेरिका जाँदा उपसभापति रामचन्द्र पौडेलले मौखिक रुपमा कार्यबाहक सभापति पाएपछि मत्थर भएको कार्यबाहकको बहस कोइराला फर्किने दिन नजिकँदै जाँदा फेरि सुरु भएको छ । कोइराला मंगलबार फर्कँदै छन् ।

मौखिकरुपमा कार्यवहाक पाएका पौडेल पदलाई निरन्तता दिने रणनीतिमा लागेका छन् । उनले यसका लागि निकटवर्ती नेताहरुसँग पटकपटक छलफल गरेको स्रोत बताउँछ । पौडेलले हालका दिनमा कोइराला परिवारकै सदस्यको सहयोगमा कार्यबाहक लिने पहल थालेका छन् । कोइरालाले कार्यबाहक दिएको यो एक महिनाको अवधिमा पौडेलले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सम्पन्न गरेका छन् भने विभिन्न समयमा पदाधिकारी बैठक पनि गराएका छन् । आफ्नो सक्रियताले उनी कार्यवाहकलाई निरन्तरता दिन चाहान्छन् ।

Ram Chandra Poudel

सभापति कोइराला प्रधानमन्त्री बनेपछि गत माघयता पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यस्तो अवस्थामा केन्द्रीय समिति र संसदीय दलको सयुक्त बैठक हुनु पनि सकारात्मक भएको बताउँछन् नेता शेखर कोइराला । संसदीय दल र केन्द्रीय समितिको सँयुक्त बैठकले सरकारले ल्याउन लागेको बजेटका विषयमा छलफल गरी पार्टीको धारणा तय गरेको थियो । पार्टीको बैठक बस्न नसक्दा संगठन चलायामान हुन नसकेको कांग्रेस नेताहरु स्वीकारछन् । त्यसैले पनि प्रधानमन्त्री कोइराालले कार्यबाहक कसैलाई दिनुपर्ने बताउँछन्, नेता कोइराला । उनले ओएनएससँग भने, ‘अब पार्टीको महाधिवेशन पनि गर्नुपर्ने बेला भएको छ, यस्तो अवस्थामा पार्टीका संगठनलाई चलायामान बनाउन पनि कार्यबाहक सभापति अरुलाई दिँदा उपयुक्त हुन्छ ।’

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य अवस्था पनि कमजोर छ । सरकारको नेतृत्वकर्ताले देश चलाउन समय दिनुपर्छ– शेखरको तर्क छ । पार्टीको सभापति पनि भएकाले उनको व्यवस्तता थप बढ्नेछ । व्यवस्तताले उनको स्वास्थ्यमा पनि असर पार्ने भएकाले पार्टीको जिम्मेवारी पौडललाई दिनुपर्ने तर्क कांग्रेसमा बलियो हुँदै गएको छ ।

आफ्नो कार्यबाहकलाई निरन्तरता दिने विषयमा कोइराला फर्केपछि छलफल हुने पौडलका एक सहयोगीले बताए । उनका अनुसार कोइराला फर्केेपछि हुने छलफलपछि मात्र के गर्ने भन्ने विषयमा पौडलले रणनीति बनाउनेछन् ।

पार्टीको महाधिवेशन विधानतः आगामी असोजसम्म गर्नुपर्ने हुन्छ । तर, साउन लागिसक्दा पनि यो विषयमा कुनै छलफल नभएकाले आगामी बैशाखभन्दा पहिला महाधिवेशन हुन नसक्ने अवस्था छ । पार्टी महाधिवेशनमा होमिने भएकाले पनि कार्यबाहक सभापतिको बहस थप पेचिलो बन्दै गएको छ । आगामी महाधिवेशनमा कोइराला आफै उम्मेदवार बन्ने टुंगोमा पुगे पौडलले कार्यबाहक नपाउने पक्का छ । उनी उम्मेदवार बन्ने नबन्ने विषयको निक्र्याेल भने उनको स्वास्थ्यले गर्नेछ ।

तर प्रधानमन्त्रीको भएको अवस्थामा कोइरालाले नेता शेरबहादुर देउवालाई पनि नचिढाउने नीति लिएका छन् । यसैले पौडललाई कार्यबाहक दिँदा देउवा रिसाउने ‘डर’ले पौडलले कार्यबाहक नपाएको पनि कांग्रेस वृत्तमा चर्चा छ ।

देउवाकै डरका कारण कोइरालाले केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने केन्द्रीय सदस्यसमेत मनोनित गरेका छैनन् ।

गत माघमा भएको संसदीय दलको निर्वाचनबाट कांग्रेस सभापति सशील कोइराला उपसभापति रामचन्द्र पौडेलको सहयोगमा संसदीय दलको नेता निर्वाचित भए । नेता शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका कोइरालाले पौडेललाई पार्टीको कार्यवाहक सभापति दिने आश्वासन दिएपछि पौडेलले सहयोग गरे । कोइराला संसदीय दलको नेता बन्दै प्रधानमन्त्री पनि बने । तर, पौडेल भने उपसभापतिमै सिमित रहे । उनलाई कार्यबाहक सभापति दिइएन ।


  •  
  •  
  •