‘थुनेर नपिट्न’ राष्ट्रपतिको आग्रह

182
  •  
  •  
  •  

काठमाडौं २१ माघ ।
राष्ट्रपति डा.रामवरण यादवले बिग्रंदो राजनीतिक अवस्था समाल्न सत्तापक्षीय नेताहरूलाई ढोका थुनेर नबस्न आग्रह गरेका छन। ram baran

सत्तापक्षीय नेताहरू प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रपति यादवले छुट्टाछुट्टै भेट गरेका छन् भने पुष्पकमल दाहालसहितका विपक्षी नेताहरूसँगको भेटमा संविधानसभा छाडेर नहिँड्न उनले आग्रह गरेका छन्।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि उनले दुई दिनअघि भेट गरेका थिए।

प्रधानमन्त्रीसहित सत्तारूढ दलका नेतासँगको भेटमा राष्ट्रपति यादवले वार्ताको ढोका बन्द नगर्न र सर्तहरू अघि नसारी विपक्षीसँग वार्तामा बस्न आग्रह गरेका छन्।

संविधान निर्माणबारे दलहरूबीच तिक्तता बढेपछि राष्ट्रपति यादवले एक्लाएक्लै र सामूहिक रूपमा पनि भेटघाट गर्दै साझा बिन्दु पहिल्याउन सुझाव दिइरहेका छन्।

स्रोतका अनुसार नयाँ संविधान नबनेसम्म शान्तिप्रक्रियाले पूर्णता नपाउनेतर्फ राष्ट्रपतिले सत्तारूढ दलका नेताहरूलाई सचेत गराएका छन्।

प्रतिपक्षका धारणामात्र सुन्ने र छलफल गर्ने सबै ढोका बन्द गर्ने हो भने ढोका थुनेर बिरालो पिटेजस्तो अवस्था आउनसक्ने भन्दै उनले अधिकतम लचकता अपनाउन कांग्रेस-एमालेका नेताहरूलाई सुझाएको स्रोतले बतायो।

उनले प्रधानमन्त्री कोइरालालाई विद्रोही शक्तिलाई कहीं न कहीं स्पेस (ठाउँ) दिएर अघि बढ्नु उपयुक्त हुने भन्दै बिग्रन लागेको बाटोलाई संविधान निर्माणतिरै सोझ्याउन पनि अनुरोध गरेका छन्।

मंगलबार बिहान शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालाका प्रमुख स्वकीय सचिव तथा कांग्रेस नेता वसन्तकुमार गौतममार्फत राष्ट्रपति यादवले सत्तारूढ दल सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

‘राष्ट्र हाम्रो हो, त्यसैले सबै मिलेर स्थायित्व कायम राख्नुपर्छ भन्ने नेपाली जनताको चाहना पूरा गर्नुपर्ने मुख्य दायित्व सरकारले ध्यान दिनुपर्छ’, राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो।

राष्ट्रपति यादवले एमाओवादी अध्यक्ष दाहाललाई पनि संविधानसभा छाडेर नजान अनुरोध गरेका छन्। शान्तिप्रक्रियाको एउटा मुख्य हिस्सा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको हस्ताक्षरकर्ता भएकाले यसलाई टुंगोमा पुर्‍याउने दायित्वबाट पछि नहट्न उनले दाहालसँग आग्रह गरेका हुन्।
‘नेपाली जनताको शान्तिको चाहना सफल पार्न मैले सत्ता र विपक्षका मुख्य नेताहरू सबैलाई आग्रह गरेको छु। सबै पक्षले लचकता देखाएर यो एेतिहासिक घडीमा मिलेर जानुको अर्को विकल्प छैन भन्ने दलका नेताहरूलाई मेरो सुझाव छ।’
शान्तिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता नबिर्सन आग्रह गर्दै उनले एमाओवादी अध्यक्ष दाहाललाई देशविदेशमा उचाइ प्राप्त गरिसकेका नेताका रूपमा परिचित भइसकेको सन्दर्भ जोडेर सुझाव दिएको स्रोतले बताएको छ।

सबै दलका नेतासँगको भेटघाटबारे अन्नपूर्णको जिज्ञासामा राष्ट्रपति यादवले भने, ‘नेपाली जनताको शान्तिको चाहनालाई सफल पार्न मैले सत्ता र विपक्षका मुख्य नेताहरू सबैलाई आग्रह गरेको छु। सबै पक्षले लचकता देखाएर यो एेतिहासिक घडीमा मिलेर जानुको अर्को विकल्प छैन भन्ने मेरो सबै दलका नेताहरूलाई सुझाव छ।’

उनले थपे, ‘संविधानसभामा जनताबाट निर्वाचित भएर आउनुको मूल कार्य संविधान निर्माण नै हो। जनतासँग गरिएको प्रतिबद्धता पूरा गर्न दलहरूको जिम्मेवारीपूर्ण भूमिकाको अपेक्षा गरेको छु।’

राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष सुवासचन्द्र ने बाङलाई पनि सबै दल समेट्ने वातावरण बनाउन आग्रह गरेका छन्। स्रोतका अनुसार ने बाङले गत साता भएको भेटमा मुख्य दलका नेतालाई संविधानसभाभित्रैबाट समाधान खोज्न आफूले गरेको प्रयास सफल हुन नसकेको गुनासो राष्ट्रपतिसमक्ष गरेका थिए। अन्न्पूर्णपोष्टबाट


  •  
  •  
  •