सहमतिका लागि राष्ट्रपतिको प्रयास

185
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले सहमतिका लागि प्रयास थालेका छन्। प्रमुख दलहरु सहमति जुटाउन असफल भएपछि राष्ट्रपति यादवले दलका नेताहरुलाई छुट्टा छुट्टै भेटेर सहमतिको प्रयास थालेका हुन् ।

राष्ट्रपतिले बिहिबार एमाले अध्यक्ष केपी अाेलीसँग छलफल गरेका छन् ।  राष्ट्रपतिका स्वकिय सचिव ललित बस्नेतले दिएको जानकारी अनुसार राष्ट्रपति यादव र अाेलीबीच संविधान निर्माण प्रक्रियामा सहमति जुटाउने बारे छलफल भएको थियाे ।

बिहान ११ बजे भएको छलफलमा राष्ट्रपतिले अोलीलाई सहमतिको लागि प्रयास थाल्न समेत अाग्रह गरेका थिए । दलहरुवीच सहमतिको वातावरण बनाएर अवरुद्ध बनेको संविधान निर्माण प्रक्रियालाई गति दिने बारेमा परामर्श गर्न राष्ट्रपतिले ओलीलाई बोलाएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।

एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले आन्दोलनका कार्यकम फिर्ता लिएपछि दलहरुबीच वार्ताकाे वातावरण बन्दै गएको छ । बुधबार एमाओवादीले प्रधानमन्त्रीसँग छलफल गर्दै वार्ताको नेतृत्व लिन अाग्रह गरेका थिए भने सभाध्यक्षले प्रमुख दलका सचेतकसँग छलफल गरेका थिए । दलहरुबीच संविधानकाे अन्तरवस्तुमा विवाद बढ्दा संविधान निर्माण प्रक्रिया विगत साढे दुई महिना यता अबरुद्ध छ ।


  •  
  •  
  •