सिन्धुपाल्चोक पुगेर राष्ट्रपतिले सोधे- चौतारामा केही भएको छैन र !

111
  •  
  •  
  •  

काठमाडौं २३ जेठ ।
राष्ट्रपति रामवरण यादव महाभूकम्प प्रभावित जिल्लाको भ्रमणमा निस्किएका छन्। शुक्रबार बिहान भूकम्पबाट क्षतिग्रस्त राजधानीका सम्पदा अवलोकन गरी मुख्य प्रभावित क्षेत्र सिन्धुपाल्चोक पुगेका हुन्। सुरक्षा निकाय तथा जिल्ला दैवीप्रकोप उद्धार समितिका अधिकारीसँग उनले भूकम्पबाट जिल्लामा पुगेको जनधन क्षतिबारे जानकारी लिए।

सो क्रममा उनले उद्धार, राहत वितरण, जोखिममा परेका वस्ती, स्थानान्तरण गर्नुपर्ने पीडितलगायतबारे जिज्ञासा राखेका थिए। त्यस्तै राष्ट्रपति यादवले नेपाल-चीन ब्यापारिक नाका तातोपानी वर्षायाममा नाकाबन्दीमा पर्नसक्ने र हिमाली गाविसमा राहतको अवस्थाबारे चासोपूर्वक जानकारी लिए।

‘वर्षा सुरु हुन लागिसक्यो। त्यस्ता गाविसका लागि गाउँमै राहत गोदाम राखिनुपर्छ, नत्र भोकमरी चल्छ। यो विषयमा ध्यान दिनुहोला,’ यादवले स्थानीय अधिकारीलाई भने।

जोखिमका वस्तीलाई तत्काल स्थानान्तरण गर्न पहल थाल्न उनको आग्रह थियो। एउटा त्रिपालसम्म नपाएको जनगुनासो मिडियामार्फत् थाहा पाएको भन्दै उनले स्थानीय अधिकारीलाई प्रश्न गरे- मिडियामा आएकोजस्तै कुरा हो? स्थानीय अधिकारी जवाफ दिए- मिडियामा केही बढाइचढाइ आएको छ। ‘त्यसो नभन्नुस्। तपाईँहरु नपुगेको ठाउँमा मिडिया पुगेका छन्,’ राष्ट्रपतिको भनाइ थियो।

स्थानीय सैनिक ब्यारेकबाट चौतारा नियाल्दै उनले जिज्ञासा राखे- ‘यो चौतारामा केही भएको छैन र!’ बजार पछाडिबाट अवलोकन गरेकाले चौतारामा साँच्चै केही नभएको जस्तो देखिन्थ्यो। जवाफलमा स्थानीय अधिकारीले भने- पछाडिबाट हेर्दा केही देखिन्न। बजार छिर्दा अब चौतारा छैन।

हेलिकोटरबाटै ध्वस्त चौतारा नजिकबाट अवलोकन गरी उनी हिमाली गाउँ लिस्ती पुगे। त्यहाँबाट राष्ट्रपति यादव अर्को प्रभावित जिल्ला दोलखा पुगेका छन्। यादव दोलखाको सबैभन्दा प्रभावित सिंगटी निरीक्षणमा जाने तयारीमा छन्। भूकम्पको डेढ महिनापछि जिल्ला भ्रमणमा निस्किएका यादव जेठ २६ गते धादिङको सेरतुङ जाने कार्यक्रम छ भने अति प्रभावित नुवाकोट, रसुवा, गोरखालगायतका जिल्लाको निरीक्षण गर्ने कार्यक्रम छ।

यसअघि उनले राजधानीका सांस्कृतिक तथा पुरातात्विक महत्वका सम्पदा र बढी प्रभावित क्षेत्रको निरीक्षण गरिसकेका छन्।

राष्ट्रपति यादवसँगै सहरी विकासमन्त्री नरायण खड्का, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिषय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरु सहभागी छन्।

नागरिकबाट


  •  
  •  
  •