राष्ट्रपतिले भने, ‘प्रधानमन्त्रीज्यू, मलाई घर जाने वातावरण बनाइदिनूस्’

969
  •  
  •  
  •  

Sushil-Koirala-Rambaran Yadavकाठमाडौँ, ५ असोज(ओएनएस) : राष्ट्रपति डा. रामवरण यादवले तराईको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । आज प्रधानमन्त्री सुशील कोइरालालाई शीतलनिवासमा बोलाई राष्ट्रपतिले भने, ‘तपाई, आफै वार्ता आह्वान गर्नूस् र आन्दोलनरत समूहसँग आफै वार्ता पनि गर्नूस् ।’

अन्य बेलामा राष्ट्रपतिलाई भेट्न एक्लै जाने गरेका प्रधानमन्त्री कोइराला आज भने मन्त्री महेश आचार्यलाई पनि साथमा लिएर गएका थिए । बालुवाटार स्रोतअनुसार, राष्ट्रपतिले नै एकजना मन्त्री पनि साथमा लिएर आउनू भन्दै आचार्यको नामै तोकेका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई समस्या समाधानका लागि लिखित सुझाव पनि दिएका छन् । भेटवार्ताका क्रममा राष्ट्रपतिले तीन बुँदाको निर्देशनात्मक सुझाव दिएको कुरा तीन दलका नेताहरुबीच पनि छलफलको विषय बनेको छ ।

राष्ट्रपतिलाई भेटेर फर्केलगत्तै प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेतलाई लिएर फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई भेट्न पुगेका थिए । राष्ट्रपतिलाई भेट्न जानुअघि कोइरालाले तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका थिए ।

राष्ट्रपतिले तराईको समस्यातिर इंगित गर्दै प्रधानमन्त्रीलाई भने, ‘प्रधानमन्त्रीज्यू, म घर जान चाहन्छु । वातावरण बनाइदिनूस् ।’ राष्ट्रपति यादवले आफ्नो घर धनुषा जान चाहेको बताएका थिए । जवाफमा प्रधानमन्त्रीले आन्दोलनरत पक्षलाई वार्तामा बोलाइरहेको र समस्या समाधानका लागि पहल पनि भइरहेको जानकारी दिएका थिए ।

साथै, प्रधानमन्त्री कोइरालाले तराईमा आन्दोलनका नाममा व्यक्तिका घर, सञ्चार संस्था, नेताको सम्पत्ति तोडफोड र आगजनी गरिरहेको भन्दै त्यो शान्तिपूर्ण आन्दोलन हुन नसक्ने बताएको उनीनिकट स्रोतले जनाएको छ ।

नयाँ संविधानमा संविधान जारी भएको ३० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुने व्यवस्था छ ।


  •  
  •  
  •