प्रधानमन्त्रीसँग राष्ट्रपति असन्तुष्ट

75
  •  
  •  
  •  

काठमाडौं २५ माघ । राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई शनिबार आफ्नो निवासमा बोलाएर प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी दललाई वार्तामा नबोलाएकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

‘प्रधानमन्त्रीजीले विपक्षीलाई किन वार्तामा बोलाइरहनुभएको छैन?’ राष्ट्रपतिले देउवा र पौडेलसमक्ष प्रश्न गरेको स्रोतले बतायो, ‘संविधान निर्माण प्रक्रियामा विपक्षी दल आएनन् भने त्यसको दोष एमालेले भन्दा कांग्रेसले बढी लिनुपर्छ।

२०४६ र ०६२/०६३ को आन्दोलनको नेतृत्व गर्ने कांग्रेसले विपक्षीलाई संविधानसभाबाट बाहिर निकाल्नहुन्छ?’ राष्ट्रपति यादवले देउवा र पौडेललाई प्रश्न गरेको स्रोतले जानकारी दियो।

राष्ट्रपतिको चासोबारे आफूहरूले प्रधानमन्त्रीसँग कुरा गर्ने देउवा र पौडेलले बताएका थिए। पौडेलले प्रतिपक्षी दलसँग यथाशीघ्र वार्ताको वातावरण बनाउन प्रधानमन्त्रीका तर्फबाट सम्बोधन हुनुपर्ने बताएका थिए।

राष्ट्रपति यादवले सबैलाई समेटेर संविधान बनाउनुपर्ने सदिच्छा व्यक्त गरेको भेटवार्तापछि पौडेलले बताए। ‘कांग्रेस सहमतिकै पक्षमा छ’, पौडेलले भने, ‘विपक्षीसँग प्रधानमन्त्रीको वार्ता गराइन्छ। एमाओवादी र मधेस केन्द्रित दल पनि लोकतान्त्रिक आचरण, विधि र व्यवहारअनुसार अघि बढ्नुपर्छ।’

राष्ट्रपति यादवले आइतबार मधेस केन्द्रित आठ दलका नेतालाई शीतलनिवासमा बोलाएर आन्दोलनको सट्टा समझदारी निर्माणमा योगदान गर्न आग्रह गर्ने भएका छन्।

‘कुनै पनि बहानाबाजीमा संविधानसभाबाट नभाग्न राष्ट्रपतिले विपक्षीलाई आग्रह गरिरहनुभएको छ भने सत्ता पक्षलाई पनि विपक्षीलाई वार्तामा ल्याउन आग्रह गर्नु भएको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अन्नपूर्णसँग भने, ‘यो संविधानसभालाई असफल बनाउन दिनु हुँदैन। यो दायित्वबोध सत्तापक्ष र विपक्षमा रहेका सानाठूला सबै दलले गर्नुपर्छ।’ अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •