राष्ट्रपतिले बोलाए शीर्ष नेताहरुलाई शीतल निवासमा

80
  •  
  •  
  •  

काठमाडौं ३० साउन (ओएनएस) :
राष्ट्रपति डाक्टर रामबरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई शीतल निवासमा बोलाएका छन् । संविधान निर्माण प्रक्रियाका विषयमा जानकारी लिन र आफ्ना केही सुझाव दिन उनले दलका नेताहरुलाई बोलाएका हुन् ।

केहीदिन यता राष्ट्रपति रामबरण यादवले दलहरुलाई भेट्न निकै प्रयास गरेपनि नेताहरु संविधान निर्माणको व्यवस्तता भन्दै सम्भव भएको थिएन ।

उनको सचिवालयले त्यसको तारतम्य पनि मिलाउन खोजेको थियो । लामो प्रतिक्षापछि राष्ट्रपति यादवले प्रमुख ४ दलका शीर्ष नेतालाई शनिबार शीतल निवासमा भेट्ने भएका छन् । ६ प्रदेशका विषयमा विभिन्न जिल्लामा हिंसात्मक घट्ना भइरहेका बेला उनले नेताहरूलाई बोलाई आवश्यक जानकारी लिन लागेको राष्ट्रपति कार्यालय शीतल निवासले बताएको छ ।

उनले संविधानका विषयमा लिखित सुझाव दिन तयार गरेपनि अन्तिम समयमा रोकिएको थियो । ती सुझावका विषयमा पनि उनले आज मौखिक जानकारी गराउने छन् ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलाई भेटका लागि बोलाइएको छ । भेटवार्ताको समय साँझ तय गरिएको छ ।


  •  
  •  
  •