‘तपस्वी’ बम्जनद्वारा दुई युवक रातभर बन्धक

42
  •  
  •  
  •  

काठमाडौं १८ भदौ ।
विवादमा मुछिदै आएका तपस्वी भनिएका रामबहादुर बम्जनले चारकोसे हलखोरिया जंगलमा सोमवार राति दुई जना स्थानीय युवालाई बन्धक बनाएर राखेका छन् । उनले निजगढ नगरपालिका ११ का युवकद्वय उत्तिम गुरो र सोनम कुमरलाई रातभर बाँधेर राखेका हुन् ।

भारतको पञ्जाबबाट घर फर्किदै गरेका उनीहरुको समूहका अन्य तीन जना भागेका थिए । घर जाने बाटोमा पर्ने उक्त स्थलमा पानी पिउन जाँदा तपस्वी भनिएका बम्जनको निर्देशनमा उनका अनुयायीले दुई युवकलाई नियन्त्रणमा लिई बाँधेर राखेका थिए ।

भागेका तीन जनाले गाउँलेलाई घटना सुनाएपछि बन्धकमा रहेका युवकलाई छुटाउन सयौको संख्यामा स्थानीयहरु हलखोरिया पुगेपछि स्थानीय र बम्जनका अनुयायीबीच झडप भएको थियो । झडपको क्रममा बम्जनका चालक रुपबहादुर थिङ र अनुयायीहरु लमजुङका समिर गुरुङ र नागराज नामका एक बालक घाइते भएका छन् । उनीहरुको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ ।

झडपमा स्थानीय राकेश गुरो घाइते भएका छन् । ‘हलखोरिया पुगेका स्थानीयमाथि बम्जनका अनुयायीले लाठी प्रहार गरेपछि दोहोरो झडपको क्रममा उनीहरु घाइते भए,’ स्थानीय जगजीवन कुमरले भने, ‘हामी स्थानीयहरु पुगेपछि बम्जनका अनुयायीहरुले बन्धकमा राखेका युवकहरुलाई छाडे ।’

घटनाको जानकारी लिन हलखोरिया पुगेको प्रहरीसित बम्जनले दुबै युवकहरु मदिरा सेवन गरी आएकाले कारबाहीस्वरुप समात्न निर्देशन दिएको बताएका छन् । ‘मदिरा सेवन गरी तपस्या स्थलमा आएर जथाभावी बोलेकोले समात्न निर्देशन दिएँ,’ बम्जनले भने । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक कैलाश राईले बम्जनसँग जोडिएर भएको बन्धक बनाएको घटनाबारे अनुसन्धान गरी कारबाही थालिने बताए ।

बम्जनले यसअघि पनि एक विदेशी महिला महिलालाई बन्धक बनाएका थिए भने हलखोरिया जंगल पुगेका मनहर्वाका सर्वसाधारणलाई नियन्त्रणमा लिई पटक पटक कुटपिट गरेकाले विवादमा तानिएका थिए । त्यसपछि उनी उक्त जंगल छाडी अन्यत्र गएका थिए । दुई महिना अघि उनी हलखोरिया जंगल फर्किएका हुन् । जिल्ला वन कार्यलय र प्रशासनले बम्जनलाई हलखोरिया प्रवेश गर्न रोक लगाएपछि पुरावेदन अदालत हेटौंडाबाट बस्न पाउने परमादेश गराएर उनी यहाँ बस्न थालेका हुन् ।
कान्तिपुरबाट


  •  
  •  
  •