महोत्तरी, २९ फागुन(ओएनएस) : प्राचिन मिथिलाको राजधानी जनकपुरलाई केन्द्र मानेर शुरु भएको मिथिला परिक्रमाको १५ दिने पदयात्राको आज शनिबार जलेश्वरमा पुगेको छ । भगवान राम र जानकीको प्रतिमा राखिएको डोलासहित राजा जनकका अराध्यदेव जलेश्वर महालिङ्गको दर्शन गर्दै महोत्तरी सदरमुकाम जलेश्वरमा पुगेर विश्राम गरेका छन् । परिक्रमाका क्रममा पदयात्रा जलेश्वर पुगेको अवसरमा धार्मिक मेला पनि लागेको छ ।
पदयात्रा जलेश्वर नगरपालिकाको साहुजी टोलस्थित गाछीमा पुगेपछि मेला लागेको हो । छुट्टाछुट्टै टेन्टमा जानकी र भगवान रामको प्रतिमा राखिएपछि पुजापाठ गर्न श्रद्धालुको घुइँचो लागेको छ । सीमावर्ती बिहारबाट समेत दर्शनार्थीहरू आइपुगेका छन् । पदयात्रा नेपाल र भारतका गृहस्थ, सन्यासी, सन्त, महन्थलगायतका आस्थावान महिला तथा पुरुषको सहभागिता छ । केहीवर्षदेखि मिथिला पदयात्रामा नांगा बाबाहरुको उपस्थिती भने देखिन छाडेको छ ।
मेलामा पदयात्री तथा श्रद्धालुका लागि जिल्ला स्वास्थ्य कार्यालय, शान्ति अस्पताल जलेश्वर नगरपालिका कार्यालयसहितका एक दर्जन भन्दा बढी संस्थाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । जलेश्वर नगरपालिका र परशुराम सेवा समितिले मिथिला परिक्रमाका पदयात्रीहरुको लागि चामल, च्युरा, दाउरा, दहीलगायतको भोजन सामग्री निःशुल्क वितरण गरेका छन् । स्थानीयबासीले समेत आ–आफ्नै घरको मूलद्वारमा बसेर चिया, मुरही, च्यरा, गुड, पूरीतरकारीसहितका सामग्री वितरण गरेका थिए ।
धनुषाको कचुरीबाट मिथिला बिहारी तथा जनकपुरको अग्निकुण्डबाट किशोरीजीको डोलासहित शुरु भएको पदयात्रा पाचौं दिनमा जलेश्वर आइपुगेको हो । महोत्तरीको मटिहानीमा एकदिने विश्रामपछि १५ दिने मिथिला परिक्रमाका पदयात्रीहरू जलेश्वर आइपुगेका हुन् । महोत्तरीकै मडैं, धु्रवकुण्ड तथा कंचनवनमा एक-एक दिन विश्राम गरि नवौ दिनमा धनुषा प्रवेश गर्नेछ ।
कञ्चनवनमा धार्मिक होलीको सुरुवात गर्दै मिथिला परिक्रमाका पदयात्रीहरु डोलासहित धनुषा जिल्लाको क्षीरेश्वरमा प्रवेश गर्नेछ । सन् १७०० सयको शुरुवातबाट यो धार्मिक पदयात्रा शुरु भएको विश्वास गरिन्छ ।
पदयात्रीहरू धनुषा र महोत्तरीको १०७ तथा भारत बिहारको २६ किलोमिटर दूरी पार गर्दै पूर्णिमाको दिन जनकपुर पुग्नेछन् । पदयात्रीहरु धनुषाको पाँच, महोत्तरीको पाँच तथा भारत बिहारको चार ठाउँमा एक/एक दिन विश्राम गरेर अन्तिम दिन जनकपुरमा विश्राम गरेको कारण १५ दिने मिथिला परिक्रमा भनिएको हो ।