सभामुखले बिगारे राष्ट्रपतिको ‘सेड्यूल’

405
  •  
  •  
  •  

rambarn yadav subas nemwangकाठमाडौ, ३ माघ( ओएनएस) : संविधान निर्माणको पूर्वनिर्धारित समयसीमा सकिनै लाग्दा सत्तापक्ष र प्रतिपक्षीबीचको दूरी कम गर्न राष्ट्रपति रामवरण यादवले पनि सक्रियता देखाएका छन् । त्यसका लागि उनले सत्तापक्ष र प्रतिपक्षीलाई अलगअलग छलफल गर्दैछन् । उनको पूर्वनिर्धारित कार्यतालिका भने विथोलिएको छ ।

उनले आज बिहानै ९ बजे एमाओवादी–मधेसवादी मोर्चाका छ जना नेतालाई भेटघाटका लागि सिंहदरबार बोलाएका थिए । त्यसपछि कांग्रेस–एमाले लगायत सत्तापक्षका नेताहरूलाई भेटघाटको समय शीतलनिवासले मिलाएको थियो ।

सभामुख सुवासचन्द्र नेम्वाङले बिहान ९ बजे नै सर्वदलीय बैठक बोलाएपछि राष्ट्रपति यादवको पूर्वनिर्धारित ‘सेड्युल’ (समयतालिका) बिथोलिएको छ । नेम्वाङद्वारा आयोजित बैठकका कारण प्रतिपक्षी दलहरुसँग पहिला र सत्तापक्षी दलसँग पछि छलफल गर्ने राष्ट्रपतिको पूर्वनिर्धारित तालिका ठीक उल्टो परेको छ । साथै, प्रतिपक्षीका कुरा सुनेर सत्तापक्षसँग छलफल गर्ने राष्ट्रपतिको मनसाय पनि पूरा नहुने भएको छ ।

विपक्षी दलहरूले सत्ता र सडकबाट दबाब दिने भन्दै संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । सत्तापक्षका दलहरु भने संविधानसभामा संविधानका विषयमा मतदानबाट टुंग्याउने प्रक्रियाको थालनी तत्काल गर्नुपर्ने पक्षमा छन् । सहमतिका लागि प्रतिपक्षीले गरेको आग्रह र वार्तामा सहभागिता पनि प्रक्रियालाई अल्मल्याउने रणनीतिका रुपमा सत्तापक्षले बुझेका छन् । त्यसैले उनीहरुले प्रतिपक्षीलाई प्रक्रियामा सहमत गराउन राष्ट्रपतिसँग आग्रह गर्ने साझा धारणा बनाएका छन् ।

प्रतिपक्षी दलहरु भने विषयवस्तुमै सहमति गर्नुपर्ने र मतदानको प्रक्रियामा जान नहुने अडानमा छन् ।

राष्ट्रपतिले सत्तापक्षका दलहरुसँग ४ बजे छलफल गरेका छन् । प्रतिपक्षीलाई साँझ ६ बजे समय दिएका छन् ।

राष्ट्रपतिले केही दिनअघि सभामुख नेम्वाङसँग संविधान निर्माणमा भएको प्रगतिबारे जानकारी लिएका थिए ।


  •  
  •  
  •