
एमाओवादी र मधेसकेन्द्रित दलहरूले संविधानसभा बहिष्कार गरेको अवस्थामा कांग्रेस-एमालेलगायतले बहुमतीय प्रक्रिया अघि बढाउन थालेकोप्रति राष्ट्रपतिले एमाले नेताहरूसँग चिन्ता व्यक्त गरे।
एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेलसँग बिहीबार बिहान भएको भेटमा राष्ट्रपति यादवले संविधानसभाभित्र भइरहेको अभ्यासप्रति ध्यानाकर्षण गराएका थिए।
‘यो संविधानसभाले संविधान बनाउनैपर्छ। यो पनि असफल हुनु हुँदैन’, राष्ट्रपतिले एमाले नेताहरूलाई भने, ‘अहिले संविधानसभाभित्र साना-मसिना-ठूला जेसुकै हैसियतमा हुन्, संविधानसभाको कारकतत्त्व एमाओवादी र मधेसी हुन्, तिनलाई छाडेर संविधानसभा अगाडि जान हुँदैन।’
राष्ट्रपति कार्यालयको एक उच्च स्रोतका अनुसार राष्ट्रपति यादवले एमाओवादी-मधेसकेन्द्रित दल पछिल्लो आन्दोलनकारी शक्ति भएकाले उनीहरूलाई ‘बाइपास’ गरेर संविधान बनाउँदा प्रश्न उठ्नेतर्फ ध्यानाकर्षण गराए।
राष्ट्रपतिले आफू देशको अभिभावकीय भूमिकामा रहेकाले छिटोभन्दा छिटो संविधान बनोस् भन्ने सबै नेपालीको जस्तै आफ्नो पनि चाहना भएको बताए।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले देशको समसामयिक राजनीतिका विषयमा कुरा गर्न एमाले नेताहरूलाई शीतल निवास बोलाएको जानकारी दिए।
‘संविधान निर्माण प्रक्रिया अघि बढेको कुरालाई राष्ट्रपतिले सकारात्मक रूपमा लिएको बताउनुभो तर लचिलो भएर सबैलाई समेटेर जान उहाँले आग्रह गर्नुभयो’, भेटबारे दाहालले भने, ‘संविधानसभाबाट संविधान पनि बनोस्, यो संविधान बनाउन आफूले पाइएन भन्ने गुनासो पनि कसैबाट नआओस्। यो प्रक्रियाबाट कोही पनि बाहिर नछुटून् भन्ने राष्ट्रपतिको भनाइ थियो।’
‘अहिले संविधानसभाभित्र साना-मसिना-ठूला जेसुकै हैसियतमा हुन्, संविधानसभाको कारकतत्त्व एमाओवादी र मधेसी हुन्, तिनलाई छाडेर संविधानसभा अगाडि जान हुँदैन।’
राष्ट्रपति यादवले संविधानसभाबाट संविधान निर्माण गर्ने ६०-६५ वर्ष पुरानो धोको भएकाले यो दुर्लभ अवसरबाट मलाई वञ्चित गरियो भन्ने भावना कसैमा पनि नआओस् भन्नेमा ख्याल गर्न ध्यानाकर्षण गराएको जानकारी दाहालले दिए।
भेटमा सहभागी एमाले महासचिव ईश्वर पोखरेलले ‘राष्ट्रपतिले अभिभावकीय हिसाबले कुरा गर्नुभएको’ बताए। ‘सहमतिका लागि अधिकतम कोसिस गर्नुस्।
कसैलाई पनि छाडेर संविधान बनाउँदा राम्रो सन्देश जाँदैन’, राष्ट्रपतिको भनाइबारे पोखरेलले जानकारी दिए। उनले संविधानसभाभित्र देखिएको गतिविधिप्रति राष्ट्रपतिले चिन्ता व्यक्त गरेको पनि बताए।
शीतल निवासमा बिहान सवा ९ बजे प्रवेश गरेका एमाले नेताहरू करिब दुई घन्टापछि बाहिरिएका थिए। राष्ट्रपतिले मसिनो गरी कुरा राखेको र ओलीले पनि सविस्तार बताएकाले भेटघाट लामो भएको पोखरेलले बताए।
बैठकमा एमाले अध्यक्ष ओलीले सहमतिका लागि अधिकतम प्रयत्न भइरहेको तर एमाओवादी-मधेसकेन्द्रित दलका नेताहरू त्यसलाई बेवास्ता गर्दै अघि बढेको जानकारी गराएका थिए।
‘राष्ट्रिय एकता र अखण्डतामाथि आँच पुग्ने गरी संघीयतामा सम्झौता गर्न सकिँदैन। लोकतान्त्रिक मूल्य र मान्यताभित्र रहेर अधिकतम लचिलो भएर अघि बढ्न तयार छौं’, ओलीले भनेका थिए।
भेटमा ओलीले एमाओवादी अध्यक्ष दाहाल सहमति जनाएका विषयमा पनि पटकपटक पछाडि फर्कने गरेकाले उनीसँग अनौपचारिक छलफल गरी सहमतिको प्रयास निरर्थक बन्दै गएको पनि बताए।
ओलीले संविधानसभाभित्र शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे सहमति जुटिसकेको जानकारी गराउँदै प्रदेशको सीमांकनमात्र बाँकी रहेको पनि बताए।
संघीयताबारे पनि आफू र दाहाल माघ ५ गते बिहान एक्लाएक्लै बस्दा सौहाद्र्रपूर्ण कुराकानी हुँदा सहमति नजिक पुगेको, त्यसपछि बसेको कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाको संयुक्त बैठकमा पनि पहिले आफूले ब्रिफिङ गरेको, त्यसपछि ‘मेरो ब्रिफिङमा केही तलमाथि भयो कि?’
भन्दा ‘उहाँले नै भनेजस्तो हो’ भनेर समर्थन गरेको पनि ओलीले बताए। तर पछि एमाओवादी नेतृत्वको गठबन्धनको बैठक राखेर त्यहाँबाट फर्कंदा दाहालले कुरा फेरेकाले माघ ८ अघि सहमति हुन नसकेको ओलीले बताए।
अन्नपूर्णपोष्टबाट
अन्नपूर्णपोष्टबाट