राष्ट्रपतिद्वारा सुशोभन स्थगित

151
  •  
  •  
  •  

काठमाडौं २५ चैत । राष्ट्रपति कार्यालयले एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको आमहडताललाई मान्यता दिएको अर्थ लाग्ने गरी मानपदवी विभूषण सुशोभन समारोह स्थगन गरेको छ।  समारोह सुरु हुनुभन्दा करिब १५ घन्टाअघि मात्र राष्ट्रपति कार्यालयले कार्यक्रम दुई साताका लागि स्थगित गर्ने निर्णय गरेपछि विदेश र उपत्यकाबाहिरबाट राजधानी आइसकेका दुई सय २७ जना अप्ठ्यारोमा परेका छन्।

राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले मंगलबार अपराह्न ५ बजेपछि मात्र गृह मन्त्रालयलाई पत्र लेखी सुशोभन समारोह ०७२ वैशाख ७ गतेका लागि सार्न आग्रह गरेका थिए। गृह मन्त्रालयले बुधबार हुने समारोहका लागि बिहान ९ बजेसम्म उपस्थित भइसक्न राष्ट्रपति कार्यालय शीतल निवासको प्रवेश पास वितरण गरिसकेको थियो।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रपति रामवरण यादव आफूले चाहेका केही मान्छेको नाम सूचीमा नपरेपछि गृह मन्त्रालयप्रति असन्तुष्ट हुँदै आएका थिए। त्यसैले गत वर्ष गणतन्त्र दिवसका दिन जेठ १५ गते घोषित विभूषणहरूमध्ये मानपदवी पाउनेलाई अर्को गणतन्त्र दिवस आउन लाग्दासम्म विभूषित नगरिएको स्रोतको आरोप छ।

पदक वितरण समारोह स्थगित भएको र अर्को समारोह ०७२ वैशाख ७ गते आयोजना हुने औपचारिक सूचना भने बुधबारको गोरखापत्रमा छापिनेछ।
पदक पाउने दुई सय २७ जनामा कास्कीका १०१ वर्षीय वृद्ध लालबहादुर गुरुङसमेत छन्।

उनी पनि काठमाडौं आइसकेको गृहका ती अधिकारीले बताए। त्यस्तै भीरबाट लडेर मृत्यु भएका राउटे मुखिया ऐनबहादुर शाहीकी पत्नी र लोपोन्मुख हायु जातिबाट विभूषित हुने रामबहादुर हायु पनि काठमाडौं आइसकेका छन्।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •