राष्ट्रपतिको विदाई र स्वागतमा सभामुख अनुपस्थित

126
  •  
  •  
  •  

काठमाडौं १ वैशाख ।
राष्ट्रप्रमुखको राजकीय र औपचारिक विदेश भ्रमण भब्य बनाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई र स्वागत समारोह यसपालि फरक रह्यो । चैत १२ मा राष्ट्रपतिलाई विदाई गर्न विशिष्ठ ब्यक्तिहरु न्यून उपस्थित थिए । जसमा सभामुख सुभावचन्द्र नेम्वाङ र प्रधानन्यायाधीश पनि थिएनन् ।

एक अधिकारीका अनुसार, सभामुख नदेखेपछि राष्ट्रपति रामवरण यादवले मुखै फोरेर सोधेका थिए- ‘सभामुख कता हुनुहुन्छ ? सभामुख राष्ट्रप्रमुखको राजकिय भ्रमणमा मात्र उपस्थित हुने गरी नयाँ प्रावधान सरकारले जारी गरेको थियो । सरकारले राष्ट्र प्रमुख तथा सरकार प्रमुखको भ्रमणबारे तयार गरेको नयाँ सूचिमा सभामुखको नाम हटाएपछि उनी चीन भ्रमणमा उपस्थित नभएका हुन् ।

विदेशमा पनि यस्तो भ्रमण चुस्त बनाउन धेरैको उपस्थिती नहुने हुँदा सरकारले त्यही अनुरुप त्यस्तो नीति लिएको हो । तर परम्परा परिवर्तन गर्दा सरकारले संसद सचिवालयसँग सामान्य सोधपुछ नगरेकोमा सचिवालयले यसमा आपत्ति जनाएको एक उच्चअधिकारीले बताए ।

राष्ट्रप्रमुखको भ्रमणमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधिस, सभामुख, संवैधानिक निकायमा प्रमुखहरु, मन्त्रीहरुको उपस्थिती विमानस्थलमा हुने गर्थ्यो । त्यसमा परिवर्तन गरी सभामुख, प्रधानन्याधीश लगायतको उपस्थिती अनिवार्य नगरिएको हो । शिष्टाचार महापाल अर्जुनकान्त मैनालीले भने- ‘गृहमन्त्रालयले तय भएको सूचि अनुरुप भ्रमणको तयारी भएको हो । भ्रमण चुस्तताका लागि केही फेरबदल भएको होला । यो अन्तराष्ट्रि अभ्यास हो ।’

विमानस्थलको अति विशिष्ठ कक्ष सानो हुदा पनि कतिपयको उपस्थितिलाई घटाइएको हो । सभामुख सुभास नेम्वाङले कान्तिपुरसंगको कुराकानीमा भने, ‘राष्ट्रपति जाने र र्फकनेबारे उपस्थित हुने सूचना आफूलाई नआएकाले विमानस्थल गइन । पहिला आउथ्यो ।’

गृह मन्त्रालयले भ्रमण सम्वन्धी ब्यवस्थामा चार भागमा विभाजन गरेको छ । राजकिय, औपचारिक, अनौपचारिक र निजी । राजकिय भ्रमणमा अधिकतम उपस्थिति गराउने र औपचारिकमा सिमित ब्यक्तिमात्र बोलाउने बयवस्था गरेको छ । अनौपचारिक र निजीमा अत्यावशयकबाहेह अन्यको प्रवेश उल्लेख छैन । ‘मन्त्री परिषदको निर्णय अनुसार भ्रमणको आवश्यकता हेरेर उक्त स्वागत र विदाईको उपस्थिती मा केही चुस्तता ल्याइएको हो, ‘ गृहमन्त्रालयका सहसचिव विनोद केसीले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •