काठमाडौं, ४ कार्तिक (ओएनएस) : राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारिन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्,‘छठपछि पार्टीको केही न केही निर्णय हुन्छ । पार्टीको निर्णयपछि हामी सरकारलाई समर्थन दिईराख्ने नै हो भन्ने छैन । समर्थन फिर्ता लिनपनि सकिन्छ । हाम्रा मागहरुपनि छन्, यदि ती पूरा भएनन् भने हामी छठपछि हामी निर्णय लिन्छौं ।’
संविधानलाई लिएर एउटै देशमा कतै दिपावली र कतै कालो दिवस मनाउँदा मुलुक समृद्ध हुन नसक्ने उनको ठोकुवा छ । उनले भनिन्,‘संविधानमा अहिलेपनि हाम्रो असहमति छ । संविधान संशोधनको लागि मधेशमा विद्रोह भयो ।
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्छ । एउटै देशमा संविधान दिवसको दिनमा कतै दिपावली मनाउने र कतै कालो दिवस मनाईएको छ । यसले प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपाली भन्ने उद्देश्य पनि पूरा हुँदैन् । मुलुकको विकासको लागि सबैलाई समेट्नुपर्छ ।’
मधेश आन्दोलनका क्रममा सहिद भएका, घाईते, अपांग भएकाहरुलाई अहिलेसम्मपनि सरकारले केही नगरेको उनले गुनासो पोख्नि। उनले भनिन्,‘आन्दोलनको क्रममा सयौं हाम्रा नेता तथा कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाईएको छ । अहिलेसम्म खारेजी गरिएको छैन् । सरकारसँग हामीले बारम्बार यही कुरा उठाउँदै आएका छौं । संविधान संशोधन गर्न र झुठा मुद्दा फिर्तालगायत अन्य मागहरु पूरा गराउनको लागि सरकारलाई समर्थन दिएका हौं । र, जुन अहिलेपनि जारी छ ।’
उनले बहुमत प्राप्त सरकार भएकोले उसले गरेका निर्णयहरु आफूहरुलाई मान्य भएको सुनाईन् । यद्धपी उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हैकमीवादी रुपमा अगाडि बढेको पनि आरोप लगाईन् । उनले भनिन्,‘विद्येयक ल्याउँदापनि नामको लागि छलफल गरियो, तर बहुमतको दम्भका आधारमा पारित गरियो ।’