छलफल जारी राख्ने सहमतिमै टुङ्गियो राजनीतिक समितिको बैठक

381
  •  
  •  
  •  

Three-Party-flag

काठमाडौ, १४ मंसिर(ओएनएस) : संविधान निर्माणका विवादित विषयमा सहमति खोज्न आज बसेको उच्च स्तरीय राजनीतिक समितिको बैठकमा कुनै सहमति हुन सकेन । उक्त बैठकमा विवादित विषयहरूमा सहमति खोज्नका लागि छलफलको क्रम जारी राख्ने सहमति गर्दै बैठक सम्पन्न गरिएको छ ।

सो बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्नमा जोड दिँदै सरकारलाई यसका लागि दवाव दिने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।

हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा तीन प्रमुख दलबीच भएको सहमति अनुसार आजबाट दलहरु राजनीतिक सम्वाद जुट्न लागेका हुन् ।

दलहरूबीचको विवादले झन्डै एक महिनादेखि जारी संवाद समितिको ‘डेडलक’ अझै हट्न सकेको छैन। कांग्रेस-एमालेले संवाद समितिको प्रस्ताव जस्ताको तस्तै संविधानसभामा पठाउने र संविधानका अन्तरवस्तुमा सहमतिका लागि आज र नै छलफल अघि बढाउने पक्षमा छन्।

छलफलमा दलहरूले आफ्नो अडान कायमै राखेका छन्। छलफलमा कांग्रेस–एमालेले आफूहरूले संवाद समितिमा पेश गरेको साझा प्रस्ताव संविधानसभामा लैजान आग्रह गरेका थिए। एमाओमवादीले भने उक्त प्रस्ताव अनुसूचीमा राखेर संविधानसभामा पठाउन सकिने बताएको थियो।

यसैबीच उच्च स्तरीय राजनीतिक समितिको बैठक सकिए लगत्तै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठक सुरू भएको छ । २२ दलीय मोर्चाको बैठक सम्पन्न भएपछि सम्वाद समितिको बैठक बस्नेछ ।


  •  
  •  
  •