सर्वपक्षीय राजनीतिक सम्मेलन अन्योलमा

75
  •  
  •  
  •  

काठमाडौं ३१ भदौ (ओएनएस) : आज हुने तय गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्योलमा परेको छ । नेकपा माओवादीले शान्ति प्रक्रिया, संविधान र संक्रमणकालीन राजनीति व्यवस्थानका विषय समेट्नुपर्ने अडान राखेपछि सम्मेलन अनिश्चित बनेको छ । अहिले एजेण्डा तय गर्न प्रधानन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । नेकपा–माओवादीको माग अनुसार नै सर्वपक्षीय सम्मेलन गर्न लागिएको र माओवादी सहभागी नभएपनि सम्मेलन हुने कांग्रेस र एमालेका नेताहरुले बताएका छन् । नेकपा–माओवादीले शान्ति प्रक्रिया, संविधानका अन्तरबस्तु र संक्रमणकालीन राजनीति व्यवस्थापनका बिषयमा पहिले लिखित सहमति गर्नुपर्ने अडान लिएपछि आज बिहान ९ बजेका लागि तय भएको राजनीतिकसभा अनिश्चित बनेको हो ।

माओवादीको प्रस्ताव सत्ताधारी दलहरुले अस्वीकार गरेका छन् । यद्यपी सभाको एजेण्डा र प्रक्रियाको बारेमा छलफल गर्न चारै दलका शीर्ष नेताहरुको बैठक अहिले केहीबेरमा बालुवाटारमा बस्दैछ । बैठकमा सहमति भए केही ढिला भए पनि आजै राजनीतिकसभा गर्ने पक्षमा प्रधानमन्त्री सुशील कोइराला रहनु भएको बालुवाटार स्रोतले जनाएको छ । काङ्ग्रेस र एमाले लगायतका सत्ताधारी दल भने नेकपा–माओवादी सहभागी नभए पनि आजै सभा गर्ने पक्षमा छन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले संविधानसभा भवन नयाँ बानेश्वरमा आज बिहानका लागि तय गरिएको सभामा सहभागिताका लागि संविधानसभामा रहेका ३१ र नेकपा–माओवादी नेतृत्वमा रहेका राजनीतिक दलहरुलाई पत्राचार गरिसकेको छ ।


  •  
  •  
  •