शिकार खेल्न आउँदैछन् साउदी राजकुमार

111
  •  
  •  
  •  

काठमाडौं २९ माघ । साउदी अरबका राजकुमार अल-वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् । विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै अाएको ‘नेपाल वाईल्डलाईफ सफारी’मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन् । चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए । सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन् । सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउनेछन् ।

यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए । तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन् । उनी चर्चित व्यापारीसमेत हुन् ।

‘राजकुमारज्यूले सिकारका लागि हाम्रो कम्पनीसंग बुकिङ गराइसक्नुुभएको छ’, सफारीका मेनेजर अमृत थापाले बुधवार कान्तिपुरसित भने, ‘उहाँको सचिवालयका अधिकारीहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ, उपयुक्त समयमा नेपाल आउने भनी खबर गरिएको छ ।’

त्यसअघि थापाले राष्ट्रिय निकुञ्ज विभागबाट नाउर र झारलको सिकार गराउन अनुमति लिनेछन् । विभागले सिकारको लाईसेन्स भएका कम्पनीवीच प्रतिस्पर्धा गरी नाउर र झारलको सिकार अनुमति दिन्छ । त्यसपछि कम्पनीले देश विदेशका इच्छुक सिकारी खोजी गरी ढोरपाट ल्याउँछन् । विभागले वाषिर्क नाउर २६ देखि ३० र झारल ११ देखि १६ वटासम्म सिकार गर्न दिन्छ । ढोरपाटनमा करिब १६ सय नाउर छन् ।

म्यानेजर थापाका अनुसार राजकुमार तलाल गत वर्षको मार्च/अप्रिलमै सिकारका लागि आउने तयारीमा भए पनि स्वास्थ्यका कारण भ्रमण रोकिएको थियो । ‘उहाँले हिंड्न नसक्ने बताएपछि यात्रा रोकिएको हो’ थापाले भने । हिउँ भएको उच्च भागमा सिकार गर्नुपर्ने, आधा महिना भन्दा बढी बिताउनुपर्ने र लेकसमेत लाग्न सक्ने भएकाले स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । २०१० को नोभेम्वरमा काठमाडौं आएका बेला तलालले नेपालको पर्यटन र संस्कृतीमा चासो लगानी गर्न रुची समेत देखाएका थिए । सन् १९७९ देखि व्यापार सुरु गरेका तलालको मोटोरोला, एप्पल, एमसीआई, एओएललगायत विश्वका थुप्रै देशका चचिर्त होटल तथा प्रविधि र सञ्चारसम्वन्धि कम्पनीमा लगानी छ ।

नेपाल वाईल्डलाईफ सफारीका संस्थापक प्रवन्ध निर्देशक राजु थापाका अुनसार रसिया, क्यानडा, अमेरिका, फ्रान्सलगायतका मुलुकबाट वर्षेनी उच्च ओहोदा र सौखिनहरु सिकारका लागि ढोरपाटन आउँछन् । केही वर्ष अघि थापाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारलाई सिकारका लागि ल्याएका थिए । सिकारपछि उनीहरुले सिकार गरेको नाउर र झारलको सिङ स्वदेश लैजान्छन् । सबैभन्दा ठूलो सिङ भएको सिकार गर्न सके शिकारीले आफूलाई बहादुर ठान्ने गरेको थापाले बताए ।

विभागका व्यवस्थापन अधिकृत तथा ढोरपाटन आरक्षका पूर्व प्रमुख शेरसिंह ठगुन्नाका अनुसार सुन्दह, दोगाडी, बार्से, फागुने, सेङ र गुस्ताङ ब्लकमा झारल र नाउर सिकार गर्न ईजाजतपत्र दिइन्छ । विभागले २०६५ देखि प्रतिस्पर्धा गरी बढी कबुल गर्नेलाई शिकार गर्ने इजाजत पत्र दिन थालेको हो ।

‘प्रतिस्पर्धाबाट सिकारको छनौट गर्न थालेपछि एक करोड रुपैयाँभन्दा बढी राजश्व जम्मा हुन थालेको छ’ ठगुन्नाले भने । केही दिन अघि खुलाएको टेण्डरमा सिकार गराउने ६ कम्पनीले प्रतिस्पर्धा गरेका छन् । झारलको अधिकतम एउटाको साढे तीन र नाउरको साढे पाँच लाख रुपैयाँसम्म टेन्डर परेको छ । सबैभन्दा बढी कबुल गर्नेलाई चयन गरि इजाजत पत्र दिईने ठगुन्नाले बताए । न्युनतम राजश्वर दर भने झारलको ५० हजार र नाउरको एक लाख रुपैयाँ तोकिएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •