ट्रम्पको चर्को आलोचनापछि गृहमन्त्री निल्सनले दिइन् राजीनामा

346
  •  
  •  
  •  

एजेन्सी : अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेपछि उनले राजीनामा दिएकी हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरेको जानकारी गराएका छन् ।
उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् ।

म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत छन् ।
उनी अमेरिकी कंग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व हुन् ।

निल्सनको अवकाशपत्रमा भनिएको छ, ‘जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु । अब नियुक्त हुने मन्त्रीलाई कंग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु ।’

राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन । सो समय अमेरिकी सीमा अधिकारीहरु र स्थानीय कानून कार्यान्वयन एजेन्सीका अधिकारीहरुसँग गोलमेच बैठक समेत बसेको थियो ।  बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर निस्किएकी थिइन् ।

रक्षामन्त्री जीम म्याटिसले राजीनामा दिएपछि कार्यवाहक रक्षामन्त्रीको रुपमा प्याट्रिक शाहनानले जिम्मेवारी पाएका छन्  । जोन केलीले गत वर्ष राजीनामा गरेपछि रिक्त भएको ह्वाइट हाउसको महत्वपूर्ण चिफ अफ स्टाफको पदमा माइक मल्भेनीले कार्यवाहक भएर काम गरिरहेका छन् । –एपी


  •  
  •  
  •