महतो नेपाल प्रहरीको कुटाइबाट घाइते भएका होइनन्

95
  •  
  •  
  •  

काठमाडौं १४ पुस ।

गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगर नाकाका प्रदर्शनका क्रममा शनिबार प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरेका छन् ।

बस्नेतले महतोसहितका नेताहरू जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको रानी भन्सार नाकामा आएको र प्रहरीले पटक-पटक चेतावनी दिंदा पनि नहटेको दाबीसमेत गरेका छन् । राष्ट्रिय मानवअ अधिकार आयोगमा सोमबार आयोगका पदाधिकारीसमक्ष गृहमन्त्री बस्नेतले प्रदर्शनका क्रममा केही आन्दोलनकारी भारततर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको दाबी गरे ।

‘कतिपय आन्दोलनकारी नेपालतर्फ थिए भने कतिपय जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए’ बस्नेतको भनाइ उद्धृत गर्दै आयोगका एक अधिकारीले भने- ‘पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो । महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ ।’ गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबीसमेत गरेका थिए ।

मधेस समस्याको समाधान तत्काल खोज्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तराई-मधेसमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन अत्यन्त कठिन भएकाले तत्काल वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका पदाधिकारीले सोमबार गृह मन्त्री शक्ति बस्नेतलाई आफ्नो कार्यकक्षमा बोलाई तराई-मधेसमा जारी आन्दोलन, भारतको नाकाबन्दी र त्यसबाट आमजनताको दैनिकीमा पारेको समस्या र मधेसमा भइरहेका हिंसात्मक झडपका बारेमा छलफल गरेको थियो । कान्तिपुरबाट


  •  
  •  
  •