आत्मवृत्तान्तले नेपाली सेनाको गोपनियता खतरामा

103
  •  
  •  
  •  

काठमाडौं १३ जेठ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय सुरक्षा तथा संवेदनशीलता, सङ्गठनको गोपनीयता र नेपाली सेनाको संस्थागत साखलाई हेक्का गरेरमात्र विचार प्रस्तुत गर्न सङ्गठनसँग जोडिएका सर्जकलाई सजग गराएका छन् ।

नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त उच्च अधिकारीबीच सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अद्यावधिक गराउन बुधबार गरेको कार्यक्रममा क्षेत्रीले सेनाको गोपनियतालाई हेक्का राख्न सजग गराएका हुन् ।

सैनिक मुख्यालयमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै क्षत्रीले आत्मवृत्तान्तलगायत पुस्तक, लेख रचना तथा अन्तर्वातामा राष्ट्रिय सुरक्षा, सङ्गठनको गोपनीयता र संस्थागत साखलाई सकारात्मक योगदान पुग्ने ढङ्गबाट मात्र प्रस्तुत गर्न सुझाव दिए । केही समयअघि सेनाका पूर्वसेनापति र उच्च अधिकृतका नाममा प्रकाशित पुस्तकमा राष्ट्रिय सुरक्षा र सङ्गठनको गोपनीयताकाबारे समाजका विभिन्न कोणबाट विभिन्न टीकाटिप्पणी हुँदै आएको अवस्थामा प्रधानसेनापति क्षत्रीले उनीहरुको ध्यानाकर्षण गराएका हुन् ।

सरकार र नेपाली जनताले सङ्गठनप्रति राखेको विश्वासलाई अवसरका रुपमा लिएर विकास निर्माण र प्रकृति संरक्षणको क्षेत्रमा उदाहरण प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता हो– प्रधानसेनापति क्षत्रीले भने ।

अन्तरक्रियामा नेपाली सेनाको समग्र वस्तुस्थिति, कल्याणकारी योजना तथा मानवअधिकारसम्बन्धी प्रस्तुतिकरण भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •