प्रस्तावित राजदूत खतिवडा र रेग्मीको सुनुवाइ २७ गतेका लागि सर्‍यो 

34
  •  
  •  
  •  

काठमाडौं । उजुरीकर्ता नआएपछि अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीको संसदीय सुनुवाइ २७ गतेका लागि सरेको छ । संसदीय समितिले उनीहरूलाई राजदूत नियुक्ति गर्न नपर्ने भए कारणसहित उजुरी आह्वान गरेको थियो।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका छन्। तर उजुरीकर्ताले सम्पर्क नम्बर दिएका थिएनन्।

गत कात्तिक ३ गते समितिले उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय दिएको थियो। उजुरीकर्ता सम्पर्कमा नआएपछि समिति सभापति लक्ष्मणलाल कर्णले सुनुवाइको मिति कात्तिक २७ गतेका लागि तोकेका हुन्। राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए ।

उजुरीकर्तालाइ पटक–पटक फोन गरेर सुचना गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले जानकारी दिए । राजदूतमा सिफारिस भएका खतिवडा पूर्वअर्थमन्त्री हुन् भने रेग्मी पूर्वमुख्यसचिव हुन्।


  •  
  •  
  •