चोरी आरोप लागेपछि राजदूतले दिए पदबाट राजीनामा

585
  •  
  •  
  •  

एजेन्सी । आर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले पदबाट राजीनामा दिएका छन् ।  यसअघि पसलबाट एउटा पुस्तक किन्न खोजे जस्तो गरी चोर्ने प्रयास गरिरहेको उनको भिडियो सार्वजनिक भएको थियो ।

७७ वर्षीय रिकार्डो भलेरोले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका बीबीसीले जनाएको छ ।  मेक्सिकोका विदेशमन्त्रीले भलेरोको स्नायुरोगसम्बन्धी उपचार भइरहेको बताएका छन् ।

पैसा नतिरी ब्वेनस आइरिजस्थित एउटा पसलबाट पुस्तक लग्दै गरेको सीसीटीभीमा देखिएपछि यसै महिना उनलाई फिर्ता बोलाइएको थियो ।

अहिले आएर उनीमाथि विमानस्थलमा रहेको एउटा पसलबाट कमिज चोर्ने प्रयास गरेको आरोप लागेको छ ।

गत अक्टोबर महिनामा एल एटिनिओ ग्र्यान्ड स्प्लेन्डिडको दराजबाट एउटा पुस्तक टिपेर पसलबाट निस्किन लाग्दा त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएपछि त्यसबारे समाचार प्रकाशित भएको थियो ।

दश अमेरिकी डलर पर्ने त्यो पुस्तक जाकोमो कासानोभाको आत्मवृत्तान्त भएको बताइन्छ । इटालीका जाकोमो १८ औँ शताब्दीका लेखक, सैनिक र साहसिक कामका लागि परिचित गुप्तचर थिए ।

घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरे र त्यो मुद्दालाई अगाडि बढाइएन ।
तर त्यससम्बन्धी भिडिओ सार्वजनिक भएपछि मेक्सिकोको विदेश मन्त्रालयले उनलाई फिर्ता बोलायो ।

पछिल्लो पटक भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलबाट एउटा कमिज चोर्न खोजेको आरोप लागेको छ ।


  •  
  •  
  •