काठमाडौं १० भदौ ।
परराष्ट्र मन्त्रालयका सहसचिवले आफूलाई राजदूत बनाउन राजनीतिक दलमार्फत लबिङ गरेपछि राजदूत नियुक्ति प्रक्रिया नै तत्कालका लागि रोकिएको छ।
वरिष्ठदेखि कनिष्ठ सहसचिवहरू राजदूत हुने दौडमा होमिँदा प्रधानमन्त्रीसँगको सम्बन्ध नै बिग्रने अवस्थामा पुगेपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डले नियुक्ति प्रक्रियालाई मंसिरमा हुने सार्क शिखर सम्मेलनसम्म थाती राख्ने मनस्थिति बनाएको स्रोतले जनाएको छ। आफूलाई राजदूत बनाइदिन भन्दै सहसचिवहरू राजनीतिक दलका शीर्ष नेताको घर–घरमा पुगेको सूचना पाएपछि मन्त्री पाण्डले केही दिनअघि मन्त्रालयमा बैठक बोलाई उनीहरूलाई हप्काएका थिए।
‘तपाईंहरू धेरैतिर कुद्नुभयो। धेरै नेताको घर पुग्नुभयो। नेताको घर धाउँदैमा राजदूत भइँदैन,’ बैठकमा मन्त्री पाण्डेको भनाइ उद्धृत गर्दै एक सहसचिवले भने, ‘मैले जुन नाम लगेको छु त्यही ठिक छ।’
स्रोतका अनुसार मन्त्री पाण्डेले राजदूत नियुक्तिको मापदण्डअनुसार भन्दै परराष्ट्रका सहसचिवहरू खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृतबहादुर राई, अर्जुनकान्त मैनाली र कालीप्रसाद पोखरेलको सूची पटक–पटक मन्त्रिपरिषदमा लगेका थिए। एक साताअघि बसेको मन्त्रिपरिषद बैठकमा पनि उनले यिनै नाम लाँदा बैठक बस्नुअघि मन्त्री पाण्डे र सरकारमा सामेल नेपाली कांग्रेसका मन्त्रीहरू रामशरण महत (अर्थ) र मीनेन्द्र रिजाल (सूचना तथा सञ्चार) बीच छलफल भएको थियो।
महत र रिजालले राजदूतको सूचीमा परराष्ट्रका अर्का सहसचिव दुर्गाबहादुर सुवेदीलाई पनि राखेर संख्या ७ पुर्यांउन दबाब दिएका थिए। कांग्रेसका मन्त्रीले सुवेदीको नाम लिएपछि परराष्ट्रमन्त्री पाण्डेले ८ जना राजदूत नियुक्ति गर्न सुझाए। त्यसपछि महत र रिजालले परराष्ट्रबाट ८ जनालाई राजदूतमा नियुक्त गर्नै नसकिने अड्डी कसेपछि छलफल त्यसै टुंगिएको थियो। ‘परराष्ट्रमन्त्री मापदण्डभित्र नपर्ने, तर नेकपा एमालेसँग आस्था राख्नेलाई प्राथमिकता दिनुहुन्छ। कांग्रेस नेताहरू आफ्नो दलनिकटलाई समावेश गर्नैपर्छ भन्नुहुन्छ। राजदूत नियुक्तिसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा अहिलेको समस्या आएको हो,’ स्रोतले भन्यो।
स्रोतअनुसार मन्त्री पाण्डेले अधिकारी, धिताल र लुइँटेललाई वरिष्ठता, राईलाई लोकसेवाको वरिष्ठता, पोखरेललाई बाँकी रहेकामध्ये पहिले हाजिर गरेको र मैनालीलाई नाम अवकाश हुने बेला भएको आधारमा राजदूत नियुक्तिको सूचीमा राखेका हुन्। सूचीमा नपरेका अन्य सहसचिवहरूले मापदण्डका आधार पेस गर्दै आफू नपर्नुको कारण बैठकमा मन्त्री पाण्डेसँग सोधेका थिए। ‘सहसचिवहरूले नामै किटेर आफूभन्दा कनिष्ठ व्यक्ति सूचीमा पर्दा आफू नपर्नुको कारण मन्त्रीसँग सोध्नुभएको थियो। तर, मन्त्रीले त्यसको स्पष्ट जवाफ दिनुभएन,’ स्रोतले भन्यो।
राजदूत नियुक्ति ५० प्रतिशत परराष्ट्र सेवा (करिअर डिप्लोमेट्स) र ५० प्रतिशत राजनीतिक नियुक्तिबाट गरिने पूर्वसहमतिलाई कार्यान्वयन गर्ने भन्दै पाण्डेले परराष्ट्रमन्त्री भएपछि राजदूत नियुक्तिसम्बन्धी केही आधार (मापदण्ड) बनाएका थिए। यसअघि पनि राजदूत नियुक्तिसम्बन्धी मापदण्ड पटक–पटक बनेको थियो।
मापदण्ड बनाउने कार्यदलमा परराष्ट्रकै सहसचिव मात्र समावेश गरिँदा उनीहरूले आफू सुहाउँदो बनाई राजदूत हुने गरेको आरोप पनि लाग्दै आएको छ। मापदण्ड बनाउने कार्यदलमा जो जो सदस्य तोकिन्छन् उनीहरू नै सबैभन्दा पहिला राजदूत हुने गरेको उदाहरण परराष्ट्रमा प्रशस्त छन्।
पछिल्लो पटक पाण्डे परराष्ट्रमन्त्री भएपछि राजदूत नियुक्तिका लागि प्रमुख पाँचवटा आधार तय गरिएको छ। मन्त्रालयमा पहिले हाजिर हुने, परराष्ट्र सेवामा अधिकृत तहमा प्रवेश गरेको मिति, अवकाश लिने अवस्थामा पुगेको, कार्यवाहक राजदूत भएर काम गरिसकेको व्यक्ति र मन्त्रालयअन्तर्गतका कुनै विभागमा प्रमुख भई कुनै जिम्मेवारी सम्हालेको सहसचिवलाई प्राथमिकता दिने आधार बनाइएको हो।
देशबाहिर रहेका विभिन्न नियोगमा बाहेक परराष्ट्रमन्त्रालयमा मात्र अहिले १३ सहसचिव छन्। लोकसेवा आयोगले निर्धारण गरेको वरिष्ठता क्रममा खगनाथ अधिकारी, दीपक धिताल, अम्बिका लुइँटेल, अमृत राई, ताराप्रसाद पोखरेल, अर्जुनकान्त मैनाली, प्रकाशकुमार सुवेदी, रमेशप्रसाद खनाल, कालीप्रसाद पोखरेल, यज्ञबहादुर हमाल, दुर्गाबहादुर सुवेदी, निर्मलराज काफ्ले र लोकबहादुर थापा पर्छन्।
अधिकारी २०६६, धिताल २०६७ र लुइँटेल २०६८ सालमा सहसचिव भएका हुन्। राई, पोखरेल, मैनाली, सुवेदी र खनाल २०६९ मा सहसचिव (फाइल बढुवा) भएका थिए। त्यस्तै, सोही वर्ष आन्तरिक परीक्षामार्फत कालीप्रसाद पोखरेल र यज्ञबहादुर हमाल सहसचिवमा बढुवा भएका थिए। दुर्गाबहादुर सुवेदी, काफ्ले र थापा २०७० चैत महिनामा सहसचिव भएका हुन्।
अन्तिम पोस्टिङपछि मन्त्रालयमा हाजिर हुनेमा धिताल र कालीप्रसाद पोखरेल अगाडि छन्। त्यसपछि क्रमशः काफ्ले, हमाल, लुइँटेल, राई, खनाल, प्रकाशकुमार सुवेदी, ताराप्रसाद पोखरेल, मैनाली, थापा, दुर्गाबहादुर सुवेदी र अधिकारी छन्।
परराष्ट्र सेवामा अधिकृत तहमा प्रवेश गरेको मितिअनुसार लुइँटेल, अधिकारी, ताराप्रसाद पोखरेल, मैनाली, प्रकाशकुमार सुवेदी र खनाल सूचीमा पर्छन्। लुइँटेल २०४३ र अधिकारी, पोखरेल, मैनाली, सुवेदी र खनाल २०४५ सालमा परराष्ट्र अधिकृत भएका थिए। कालीप्रसाद पोखरेल र दुर्गाबहादुर सुवेदी २०४७, हमाल र थापा २०५२, राई २०६२, काफ्ले २०६३ मा परराष्ट्र अधिकृतमा प्रवेश गरेका हुन्। धिताल भने २०५६ सालमा सीधै परराष्ट्र उपसचिवमा प्रवेश गरेका थिए।
‘अवकाश लिने अवस्थामा पुगेकालाई अवसर दिने’ आधारमा मैनाली सबैभन्दा अघि छन्। उनको सेवाअवधि अब दुई वर्ष बाँकी छ। चौथौ आधार ‘कार्यवाहक राजदूत भएर काम गरिसकेको व्यक्ति’ हेर्दा अधिकारी, खनाल, दुर्गाबहादुर सुवेदी, मैनाली, ताराप्रसाद पोखरेल, थापासँग मात्र लामो समय कार्यवाहक राजदूत भएर काम गरेको अनुभव छ। अन्यसँग थोरै समयको मात्र अनुभव छ।
मापदण्डको पाँचौं ‘मन्त्रालयअन्तगैतका कुनै विभागमा प्रमुख भई कुनै जिम्मेवारी सम्हालेको’ आधारमा विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव धिताल र खनालसँग मात्र छ। धितालले राहदानी विभाग प्रमुख भएर काम गरेका भने खनाल अहिले पनि राहदानी विभागमा महानिर्देशक छन्।
मापदण्डमा धेरै आधार समेटिँदा सबैले आ–आफ्नो अनुकूलअनुसारको व्याख्या गर्ने गरेका छन्। ‘स्पष्ट मापदण्ड नहुँदा सबै सहसचिवलाई आ–आफ्नो डम्फु बजाउँदैमा ठिक्क छ। कम्तीमा ५/१० वर्ष टिकाउन हुने मापदण्ड तयार पार्नुपर्छ। अनि मात्र राजदूत नियुक्ति निर्विवाद हुन सक्छ,’ स्रोतले भन्यो। नागरिकबाट