यस्तो छ नयाँ प्रस्तावित राजदुतहरुको योजना

123
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : विभिन्न ६ देशमा राजदुतका लागि सिफारिस भएकाहरुको संसदीय सुनुवाई सुरु भएको छ ।

संसदीय सुनुवाई विशेष समितिले शुक्रबार ३ जनाको संसदीय सुनुवाई गरेको छ । जेनेभाका लागि प्रस्तावित राजदुत दिपक धिताल, क्यानडाका लागि सिफारिस कालिप्रसाद पोख्रेल र फ्रान्सका लागि सिफारिस अम्बिकादेवी लुइटेलको सुनुवाई गरेको हो ।

सुनुवाईका क्रममा प्रस्तावित राजदुतले नेपालको हितका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सहयोगले मात्रै मुलुक नचल्ने भन्दै ब्यापार विस्तार आफूहरुको प्राथमिकता हुने समेत बताएका छन् ।

कालिप्रसाद पोख्रेल– क्यानडाका लागि प्रस्तावित राजदुत

क्यानडाका लागि प्रस्ताव गरिएका राजदुत कालीप्रसाद पोख्रेलले आफू राजदुत भएमा निर्यात बढाउनका लागि बजारको खोजी गर्ने बताए ।

अमेरिकामा कार्यवाहक राजदुत भएर काम गरेकाले क्याडालाई पनि नजिकबाट नियालेको भन्दै पोख्रेललाई त्यो अनुभव प्रयोग गर्ने आश्वासन दिए ।

पोख्रेलले क्यानडासँगको व्यापारमा साढे १६ करोडको आयात र ९ करोड निर्यात भएको भन्दै त्यसलाई विस्तार गरि निर्यात बढाउने विश्वास दिलाए । उनले भने,‘ सहयोगमा मात्रै जोड गरेर अब हुँदैन मेरो ध्यान एडमा भन्दा ट्रेडमा बढी हुने छ ।’

उनले क्यानाडाबाट नेपाल आउने पर्यटकको संख्या दोब्बर बनाउन प्रयास गर्ने,कन्सुलर, लाईसेन्सको समस्या धेरै भएकाले त्यसलाई समाधान गर्ने पनि प्रतिवद्धता जनाएका छन् । क्युवाको आवासीय राजदुतमा समेत प्रस्ताव गरिएका पोख्रेललाई क्युवाकोबारेमा किन नबोलेको भन्दै सभासदले जिज्ञासा राखेपछि उनले भने,‘अझै प्रधानमन्त्रीसँग अमेरिका जादै छुँ अलि प्रेसरका कारणले पनि छुट्न गएको हो ।’

प्रस्तावित राजदुत पोख्रेलले क्युवासँगको राजनीतक सम्बन्ध विस्तार गर्न पहल गर्ने बताए । नेपालको हित प्रवद्र्धन गर्ने, क्युवामा कति नेपाली छन्, त्यसको तत्थ्याङ्क संकलन गर्ने पोख्र्रेलको भनाई छ ।

दिपक धिताल–स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदुत

जेनेभाका लागि प्रस्तावित स्थाई प्रतिनिधि, स्वीट्जरल्याण्डका राजदुत तथा इटलीका गैर आवासीय राजदुत दिपक धितालले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्न सक्दो पहल गर्ने बताए ।

भुटानलाई कुनै न कुनै रुपमा दबाव दिएर भुटानी शरणार्थी स्वदेश फिर्ता वा तेस्रो देश पुर्नवासका लागि आप्mनो पहल हुने धितालको भनाई छ ।

स्वीट्जरल्याण्डमा श्रोत नखुलेको नेपाली रकम खुलाउन पनि पहल गर्ने धितालको भनाई छ । उनले भने,‘श्रोत नखुलेको नेपाली पैसा छ भन्ने कुरा आएको छ, त्यसका लागि स्वीट्जरल्याण्ड पनि विग ट्रन्फर्मेशनमा जान लागेकाले यदि त्यस्तो भए नेपाली रकम पत्ता लगाउन सजिलो हुनेछ र मैले पनि पहल गर्ने छुँ ।’

उनले विकास र सहयोगका लागि राजनीतिक स्थायीत्व आवश्यक रहने भन्दै धितालले नेपालमा पनि राजनीतिक स्थायीत्व भए सहयोगका लागि सजिलो हुने बताए ।

अम्बिका देवी लुइटेल– फान्सका लागि प्रस्तावित राजदुत

फ्रान्सका लागि प्रस्तावित राजदुत तथा स्पेन पोर्चुगल र ग्रिसका लागि गैर आवासीय राजदुत अम्बिकादेवी लुइटेल नेपाल–फ्रान्सबीचको राजनीतिक र नीतिगत सम्बन्ध सुधार्न आफू प्रतिवद्ध हुने बताईन् ।

फ्रान्ससँग लामोसमयदेखि राजनीतिक तहको भ्रमण नभएको भन्दै यसको पहलका लागि आफ्नो जोड हुने लुइटेलको भनाई छ । फ्रान्सले कृषि र पर्यटनमा राम्रो विकास गरेकाले त्यो अनुभव साटासाट गर्न आफूले पहल गर्ने प्रस्तावित राजदुत लुइटेलले विश्वास दिलाईन् ।

व्यापारको हिसाबले फ्रान्ससँग परम्परागत सामानको मात्रै व्यापार भएकाले ठूलो स्केलमा व्यापारिक सम्बन्ध बढाउन आफूले पहल गर्ने लुइटेलको भनाई छ ।

थाइल्याण्डका लागि प्रस्तावित राजदुत खगनाथ अधिकारी, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदुत अमृतबहादुर राई र कवेतका लागि प्रस्तावित राजदुत यज्ञबहादुर हमालको सुनुवाई आईतबार विहान ८ बजदेखि सुरु हुने संसदीय सुनुवाई विशेष समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।


  •  
  •  
  •