लगातार ३ जित हात पार्दै राजस्थान रोयल्स शीर्ष स्थान, मुम्बई पुछारमा

136
  •  
  •  
  •  

Pepsi IPL 2015 - M9 RR v MIकाठमाडौ, २ बैशाख(ओएनएस) : इण्डियन प्रिमियर लिग (आईपिएल)मा गयराती सम्पन्न खेलमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पार्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित मुम्बई इण्डियन्स अंकतालिकाको पुछारमा कायमै रहेको छ । राजस्थानले खेलेका ३ वटै खेलमा जित हासिल गर्दै ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने मुम्बईले ३ खेलमा पराजित हुँदै अंकतालिकाको पुछारमा कायम रहेको छ ।

अहमदावादको सरदार पटेल स्टेडियममा भएको खेलमा राजस्थानले मुम्बईलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको हो । मुम्बईले दिएको १ सय ६५ रनको विजय लक्ष्य राजस्थानले ५ बल बाँकी रहँदै ३ विकेट गुमाएर भेट्टाएको थियो ।

कप्तान स्टिभन स्मिथले उत्कृष्ट पारी खेलेपछि राजस्थानको जित सहज भएको थियो । उनले ५३ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्धतले अविजित ७९ रनको पारी खेलेका थिए । यस्तै, अजिक्य रहाणेले ३९ बलमा ४६ रन जोड्दा सन्जु सामसनले १७ रन र दीपक हुडाले १३ रन जोडेका थिए । मुम्बईका लागि विनय कुमार, लासिथ मलिंगा र स्रेयस गोपालले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको मुम्बईले ५ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो । निकै खराब सुरूवात गरेको मुम्बईले १० ओभरमा मात्र ४५ रन जोड्दा ३ विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा रहेका कोरे एण्डरसन र किरन पोलार्डले इनिङ सम्हाल्दै आक्रामक ब्याटिङको मद्धतले १ सय ६४ रनको योगफलसम्म पुर्याएका थिए । यी दुईले चौथो विकेटका लागि १ सय ४ रनको पारी खेलेका थिए । यसक्रममा पोलार्डले मात्र ३४ बलमा ७ चौका र ५ छक्काको मद्धतले ७० रन र कोरी एण्डरसनले ३८ बलमा ५ चौका र ३ छक्काको मद्दतले ५० रन जोडेका थिए । यस्तै, पार्थिव पटेलले १६ रन, उन्मुक्त चन्दले १२ रन बनाएका थिए भने रिटायर्ड हर्ट हुनुअघि आरोन फिन्चले १० रन जोडेका थिए ।
खेलको म्यान अफ दी म्याच राजस्थानका कप्तान स्टिभन स्मिथ घोषित भएका छन् ।


  •  
  •  
  •