राजस्थानको लगातार चौथो जीत, सनराइजर्स पराजित

207
  •  
  •  
  •  

काठमाडौ, ४ बैशाख(ओएनएस) : इण्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित दर्ता गरेको छ । गयराती सम्पन्न खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।

निकै रोमाञ्चक खेलमा राजस्थानले अन्तिम बलमा जित निकालेको थियो । १ सय २८ रनको झीनो लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर अन्तिम बलमा उक्त लक्ष्य भेट्टाएको थियो । राजस्थानका लागि अजिक्य रहाणेले सर्वाधिक ६२ रनको पारी खेलेका थिए । यस्तै, सन्जु सामसनले २६ रन, स्टुअर्ट बिन्नीले अविजित १६ रन र कप्तान स्टिभन स्मिथले १३ रन जोडेका थिए । सनराइजर्सका लागि रवी बोपाराले २ विकेट, ट्रेन्ट बोल्ट र कर्न शर्माले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको सनराइजर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रनको झिनो योगफल तयार गरेको थियो । उसका लागि इयान मोर्गानले सर्वाधिक २७ रन जोडेका थिए भने नमन ओझाले २५, रबी बोपाराले अविजित २३, कप्तान डेभिड वार्नरले २१ रन जोडेका थिए । यता राजस्थानका लागि धवल कुलकर्नी र प्रविन ताम्बेले समान २-२ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच अजिक्य रहाणे घोषित भएका छन् ।

आज हुने खेलमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्ग्सको सामना गर्नेछ ।


  •  
  •  
  •