सबै तहको निर्वाचनमा भाग लिने राजपाको निर्णय

194
  •  
  •  
  •  

Rajapa
काठमाडौं, ८ भदौ (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा)ले अबका सबै तहका निर्वाचनमा सहभागी हुने जनाएको छ ।

बुधबार मात्रै तेस्रो चरणको चुनावमा भाग लिने औपचारिक निर्णय गरेको भोलिपल्ट राजपाले सबै तहका निर्वाचनमा माग लिने निर्णय गरेको हो । राजपाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको स्थानीय चुनावदेखि प्रदेश र संसदीय चुनावमा भाग लिने स्प्ष्ट पारेको हो ।

बुधबार सम्पन्न पदाधिकारी बैठकको निर्णय सार्वजिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफूहरुको केही माग सरकारले पूरा गरेकोले निर्वाचनमा सहभागी हुने बताए ।

उनले पार्टीले उठाएका मुद्दाहरुलाई शान्तिपूर्ण आन्दोलनमार्फत् कार्यान्वयन गराउँदै अगाडि बढ्ने बताए । तराईमा स्थानीय तहको संख्या थपिनु, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा, घाइतेको उपचार, अपाङ्गता भएकाको सरकारबाट भरणपोषण व्यवस्था मिलाउनु राजपा आन्दोलनको उपलब्धि भएको उनले बताए ।

संयोजक ठाकुरले आगामी असोज २ गते हुने प्रदेश २ को स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि पनि उम्मेदवार चयन गर्ने तयारी सुरु भइसकेको जानकारी दिएका छन् ।

राजपाले यसअघि माग्दै आएको चुनाव चिन्ह छाता भने पाउन सकेन । चिह्न छाता निर्वाचन आयोगले नदिएपछि उसले साइकल चुनाव चिह्न रोजेको छ ।

साइकल चुनाव चिह्न यसअघि राजपामा सहभागी शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले प्रयोग गदै आएको थियो ।


  •  
  •  
  •