बर्षाको कारण देशभरको जनजीवन प्रभावित, मंगलबार साँझसम्म पानी पर्ने

181
  •  
  •  
  •  

काठमाडौं, २८ मंसिर (ओएनएस) :  शनिबार रातिबाट देशभर परेको बर्षाको कारण जनजीवन कष्टकर भएको छ । बर्षाको कारण तराई तथा पाहाडी क्षेत्रमा चिसो बढेको छ भने हिमाली जिल्लाहरुमा हिँउ परेको छ ।

हिउँदको पहिलो बर्षा र हिमपातसँगै देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । न्यूनचापीय जलवाष्पयुक्त वायु इरान, अफगानिस्तान, पाकिस्तान र उत्तर भारत हुँदै हिजो नेपाल भित्रिएको पनि बर्षा भएको बिभागले जनाएको छ ।
बर्षाले देशभरीका हवाई उडान प्रभावित भएका छन् । आजको सबैभन्दा कम तापक्रम काठमाडौ.मा ५ डिग्री र अधिकतम १७ रहने पूर्वाअनुमान गरिएको छ । हिमाली जिल्लामा तापक्रम माइनसमा झरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगका अनुसार मंगलबारसम्म पानी पर्ने र त्यसपछि चिसो झन बढ्नेछ ।

कर्णालीका जिल्लाहरुका उच्च पहाडी क्षेत्रमा शनिबार साँझदेखि वर्षासँगै हिमपात भइरहेको छ । बर्षाका कारण अत्यधिक चिसोसँगै शनिबार साँझ ५ बजेदेखि जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा हिउँ पर्न सुरु भएको हो ।

हिमपात भइरहेको र जाडो बढ्दै गएकाले घरका काम प्रभावित बनेका छन् । पानीसँगै हिउँ पर्न थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । स्थानीय जनता घरभित्रै आगो बालेर बसिरहेका छन् भने पशुचौपायाको चरनमा समस्या उत्पन्न भएको छ ।

सुदरपश्चिमको पनि पानी पर्दा यहाँको जनजीवन कष्टकर भएको छ । वर्षाका कारण अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै शीतलहर चल्न थालेपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैभन्दा बढी शिविरमा बस्दै आएका भूमिहीन, आरक्ष विस्थापित परिवार र विद्यालय जाने बालबालिका समस्यामा परेका छन ।

यता हिमपातको कारण मनाङ र मुस्ताङको जनजीवन कष्टकर बनेको छ । मुस्ताङको तापक्रम अहिले –२ डिग्री सेल्सियसमा झरेको छ । सर्वसाधारण जनता बाहिर निस्कन सकिरहेका छैनन् । सरकारी कार्यालय सुनसान भएका छन् । चिसोले सदरमुकाम जोमसोमका होटल र पसल एकदमै कम खुलेको छन् ।


  •  
  •  
  •