काठमाडौं १ भदौ ।
पानी पार्ने ‘न्युनचापीय क्षेत्रीय रेखा’ दक्षिणतिर सर्दै गएपछि झण्डै पाँच दिनदेखिको झरी शनिबारदेखि रोकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले शनिबारदेखि न्युनचापीय रेखाको फैलावट र प्रभाव घटै गएका कारण आइतबारदेखि देशभरको मौसममा सुधार आउने बताए ।
न्युनचापिय रेखाले नेपालमै छोएपछि विकास भएको प्रणालीका कारण एकैपटक भारी वर्षा हुँदा देशका विभिन्न भागमा बाढी र पहिरोले ब्यापक मात्रामा धनजनको क्षती पुर्याएको थियो । अहिले पनि न्युनचापीय रेखाको प्रभाव कायमै रहेकाले पश्चिम, मध्यपश्चिम र काठमाडौं आसपासमा शनिवार राती सामान्य वर्षा हुने पौडेलको अनुमान छ ।
‘ठूलै वर्षा हुने सिस्टम चाँही देखिएको छैन,’ उनले ईकान्तिपुरलाई भने, ‘न्युनचापीय रेखा विस्तारै दक्षिणतिर सर्दै जानेक्रममा भएकाले अब हामीकहाँ भारी वर्षा हुँदैन ।’ भारतीय भूमीतिर सर्ने भएकाले अब यूपी र उत्तरप्रदेशभन्दा तलतिरको भागमा बढी वर्षा हुने महाशाखाको अनुमान छ । महाशाखाका अनुसार यसवीचमा दाङ र सुर्खेतमा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ ।
दाङमा २४ घण्टामा १५३ पानी परेको रेकर्ड भएकोमा शुक्रवार २४ घण्टामा २९८ मिलिमिटर पानी परेको थियो । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा १६९ मिमि वर्षा रेकर्ड भएकोमा शुक्रवार २४ घण्टामा ४२३ मिमि वर्षा भयो । कर्णाली चिसापानीमा पनि २४ घण्टामा ४९३ मिमि पानी परेको पौडेलले बताए ।
कान्तिपुरबाट